एकै दिन निर्वाचन गर्न तीन विकल्प

काठमाडौं, २१ साउन

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ। अहिलेसम्म तीनवटा विकल्प देखिएका छन्, त्यसमाथि आयोगले छलफल गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन कति सम्भव छ भनेर सोधेपछि आयोग विकल्पको खोजीमा लागेको हो। छलफल अहिले प्रारम्भिक चरणमै रहेको आयोगले जनाएको छ।

१. प्रदेश सभा र प्रतिनिधिसभाको एउटै मतपत्र

निर्वाचन आयोग प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र बनाउन सकिने छलफलमा छ। त्यसो हुँदा प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि एउटा र समानुुपातिकतर्फका लागि अर्को मतपत्र हुनेछ। मतदाताले दुईवटा मतपत्रमा मतदान गरे पुग्छ। तर, यो विधि अपनाउँदा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र अटाउनुपर्ने हुन्छ। आयोगले यस विषयमा निर्वाचन क्षेत्र निर्धारण आयोगसँग छलफल गर्ने तयारी गरेको छ।

२. प्रत्यक्ष र समानुपातिक प्रणालीको एउटै मतपत्र

आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि एउटै मतपत्र बनाएर प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने विकल्प पनि अघि सारेको छ। यो विकल्पअनुसार प्रदेश सभा र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै दलले समानुपातिकतर्फ पाएको मत मानिने छ। यो विधि अनुसार एउटा दलको प्रत्यक्षको उम्मेदवारलाई मत दिएर समानुपातिकमा अर्को दललाई मत दिन भने पाइने छैन।

३. विद्युतीय मतदान उपकरण

आयोगले दुवै निर्वाचन एकै दिन गर्न तेस्रो विकल्पमा विद्युतीय मतदान उपकरणको उपयोगलाई लिएको छ। सुगम क्षेत्रमा विद्युतीय मतदान उपकरण उपयोग गरेर बाँकी क्षेत्रमा मतपत्रकै प्रयोग गर्न सकिन्छ। ‘विद्युुुतीय मतदान उपकरणको प्रयोग पनि एउटा विकल्प हो, तर समय र खरिद प्रक्रियाका कारण तत्काललाई भरपर्दो भइसकेको छैन,’ निर्वाचन आयुक्त इला शर्माले भनिन्। –(नयाँ पत्रिका)

शनिबार, साउन २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*