किन जम्दैनन् राजनीतिमा कलाकार ?

रेखा थापा र करिश्मा मानन्धर

काठमाडौं, २१ साउन ।

गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ। पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा आबद्ध भए। कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारको आगमनले एकताका दलहरूभित्र तरंग नै ल्यायो। तर, सक्रिय राजनीतिमा उत्रिएका कलाकार पार्टीभित्र स्थापित हुन सकेका छैनन्।

भूमिका र सफलता नपाएपछि नेता कलाकार पनि निराश नै छन्। केहीले त पटक–पटक पार्टी परिवर्तन पनि गरिरहेका छन्। कलाकारिताबाट देशको समृद्धि सम्भव नभएकाले राजनीतिमा उत्रिएको बताउने कलाकार राजनीतिमा आखिर किन जम्न सकेनन् ? माओवादीमा आबद्ध भएर स्थानीय निर्वाचनअघि राप्रपा प्रवेश गरेकी रेखा थापा भन्छिन्, ‘म देशको सेवा गर्न राजनीतिमा आएकी हुँ। तर, हाम्रो आवाज र एजेन्डालाई दबाउन खोजियो। त्यसकारण कलाकारले आफ्ना एजेन्डा स्थापित गर्न सकेका छैनन्।’ उनी अहिले राप्रपाको केन्द्रीय सदस्य छिन्।

थापा मात्र होइन, एमालेमा प्रवेश गरेर एकाएक चर्चा कमाएका नायक भुवन केसी पनि राजनीतिबाट पीडित छन्। दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट टिकट उम्मेदवार बनाउने आश्वासन पाएका केसीको नाम अन्तिममा काटियो। एमालेले टिकट नदिने भएपछि भुवन तत्कालीन राप्रपा नेपालमा जाने मनस्थितिमा पुगेका थिए। यसको सुइँको पाएपछि उनलाई पार्टीमै रोक्न वरिष्ठ नेता माधव नेपालको पहलमा नायक भुवनलाई टिकट दिने लगभग पक्का भयो। टिकट पाएपछि भुवन पनि निकै खुसी थिए। मिडियामा उनले तीन करोड नेपालीको साथ पाएको बताउँदै हिँड्नसमेत भ्याए। तर, रातारात पार्टीभित्रैका नेताको दबाबमा उनको टिकट खोसियो। भुवन जिल्ल परे।

तर, आफू राजनीतिक लाभ लिन पार्टीमा प्रवेश नगरेकाले यसले आफूलाई कुनै असर नपारेको उनी बताउँछन्। भन्छन्, ‘म निःस्वार्थ भावनाले राजनीतिमा प्रवेश गरेको हुँ। त्यसैले पार्टीले दिएको जिम्मेवारी बहन गर्न तयार छु, तर पदको लालचमा भने लाग्दिनँ। न पद पाइनँ भनेर पार्टी नै परिवर्तन गर्छु।’ केसी त एक उदाहरण मात्र हुन्, उनीजस्तै पार्टीमा विभिन्न आश्वासन पाउने धेरै छन्।

पार्टी प्रवेशपछि किन गुमनाम हुन्छन् कलाकार ?

राजनीतिक मोहपछि विभिन्न पार्टी प्रवेश गर्ने कलाकार खासै चर्चामा आउँदैनन्। तत्कालीन एमाओवादीमा सयजना कलाकार एकैपटक प्रवेश गरेका थिए। त्यसपछि कांग्रेस, एमाले र राप्रपामा कलाकार प्रवेश गर्ने होड चल्यो। तर, उनीहरू खासै चर्चामा आएनन्। कलाकारिता गर्नजस्तो राजनीति गर्न सजिलो नरहेको अभिनेता राजेश हमाल बताउँछन्। भन्छन्, ‘कलाकार कलाकारितामा जति लोकप्रिय हुन्छन्, राजनीति प्रवेश गर्दा त्यही लोकप्रियता लिएर गएका हुँदैनन्, त्यसैले चर्चामा आउन गाह्रो हुन्छ।’

नयाँ शक्तिकी नेतृ एवं नायिका करिश्मा मानन्धर हमालको विचारसँग असहमत छिन्। भन्छिन्, ‘कलाकारले राजनीति सिक्दै जानुपर्छ, पार्टीबाट उचित जिम्मेवारी नपाएसम्म र राज्यको नीति, निर्माण तहमा नपुगेसम्म कलाकारले केही गर्न सक्दैन।’ उनी कलाकारितालाई राजनीतिसँग दाँज्न नहुने बताउँछिन्।

कलाकारले पार्टीमा अवसर नपाएको भन्न मिल्दैन: पम्फा भुसाल

कलाकारले पार्टीमा अवसर नपाएको भन्ने विचारसँग माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल सहमत छैनन्। ‘पार्टीका विभिन्न विभाग, संगठन, जनसम्पर्क समिति हुन्छन्। त्यहाँ कलाकारले आफ्नैखाले जिम्मेवारी लिएका हुन्छन्,’ भुसाल भन्छिन्, ‘स्थानीय निर्वाचनकै सन्दर्भमा उहाँहरूलाई पार्टीले विभिन्न जिम्मेवारीमा खटाएको हुन्छ। त्यसैले राजनीतिक दलले कलाकारलाई बाइपास गरे भन्ने कुरा मान्न म तयार छैन।’

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कलाकारिता गर्नेहरू राजनीतिमा प्रवेश गरेसँगै त्यसको फोहोरी खेलमा लागेका कारण गुमनाम हुने गरेको बताउँछन्। पार्टी प्रवेश गरेसँगै कुनै जिम्मेवारी र भूमिका नपाएका कारण कलाकार गुमनाम हुन्छन्। यसको उदाहरण हो, ०७० को दोस्रो संविधानसभा निर्वाचनपछिको अवस्था। सो निर्वाचनपछि गुमनाम रहेका कलाकार एकाएक स्थानीय तहको निर्वाचनमा तातेका छन्। यसबाट कलाकारलाई राजनीतिक दलले कसरी प्रयोग गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ। कलाकारले आफ्नो जिम्मेवारी नखोज्नु र पार्टीले पनि त्यसमा खासै चासो नदिनु यसको कारण रहेको करिश्मा बताउँछिन्।

गुमनाम हुनेसँगै पार्टी परिवर्तन गर्नेहरूको संख्या पनि उत्तिकै छ। तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएपछि रेखा थापा माओवादी पार्टी प्रवेश गरिन्। त्यतिवेला थापालाई माओवादीले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएको थियो। तर, उनी अध्यक्ष बन्न सकिनन्। त्यसपछि निष्क्रिय बनेकी नायिका रेखा केही समयअघि राप्रपामा प्रवेश गरिन्। त्यस्तै, गणतन्त्र आएपछि माओवादी बनेका नीर शाह पछिल्लो समय कांग्रेस प्रवेश गरेका छन्। एमालेका जनपक्षीय कलाकार संघका केपी पाठक माओवादी प्रवेश गरे। यो समाचार आजको ‘नयाँ पत्रिका’ दैनिकमा छ ।

क–कसले खाए राजनीतिक नियुक्ति ?

युवराज लामा – माओवादीबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव

राजकुमार राई – कांग्रेसबाट चलचित्र विकास बोर्डको अध्यक्ष

नीर शाह – कांग्रेसबाट नेपाल टेलिभिजनको अध्यक्ष

मेलिना मानन्धर – कांग्रेसबाट सेन्सर बोर्डको सदस्य

रूपा राना – कांग्रेसबाट राष्ट्रिय चलचित्र विकास बोर्ड सदस्य

राधिका हमाल – हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार

रवीन्द्र खड्का – शाही कालमा राप्रपाबाट पनौतीको मेयर

नलिना चित्रकार – पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट समानुपातिकतर्फ उम्मेदवार

धर्मेन्द्र मर्वैता – फोरम गणतान्त्रिकमा प्रवेश गरेलगत्तै चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

युवराज लामा
युवराज लामा
नीर शाह
नीर शाह
भुवन केसी
भुवन केसी
मेलिना मानन्धर
मेलिना मानन्धर

 

 शनिबार, साउन २१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*