कञ्चनपुरमा छाउपडी गोठ भत्काउने अभियान सुरु

कञ्चनपुर, ४ पुस ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले त्यस्ता गोठ भत्काउने अभियान चलाएको हो ।

वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान सुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताएकी छिन् ।

“छाउपडी कुरीतिको रुपमा छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उनले भनिन्, “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ ।

गोठ भत्काउने अभियानमा वडाध्यक्षले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोग गरेका थिए ।

वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले सहयोग गरिएको बताइन् ।

“गोठ घरबाट टाढा हुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ” उनले भनिन्, “महिलालाई सुरक्षित बनाउन गोठ नभत्काई हुँदैन ।”

घरबाट टाढा गोठमा बस्दा परिवारका अन्य सदस्यसित सम्पर्कसमेत हुन नपाएर विगतमा महिलाले धेरै दुःख पाएको अध्यक्ष गिरीले बताएकी छिन् ।

सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरु पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्ने चलन रही आएको छ । रासस

मंगलबार, पुस ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*