कसरी हुन्छ राष्ट्रिय सभा निर्वाचन : क-कसले मत हाल्न पाउँछन् ?

काठमाडौं, २३ पुस ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पुस मसान्त सम्म दल दर्ताको समय दिएको छ । त्यसपछि निर्वाचनका लागि सात वटै प्रदेशमा मतदाता नामावली संकलन गर्ने, सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको सबै तयारी पूरा गर्न एक महिना लाग्ने बताएको छ । त्यही आधारमा एक महिनापछि राष्ट्रिय सभा निर्वाचनको मिति प्रस्ताव गरेको आयोगको भनार्इ छ । आयोगले मतपत्र छपाइ, उम्मेदवारी दर्ता, दाबी–विरोध र चुनावी प्रचार सहितका तयारी यही एक महिना भित्र हुने जनाएको छ ।

सातवटै प्रदेशमा निर्वाचन हुँदा त्यहाँका मतदाताले सोही प्रदेशका उम्मेदवारलाई मात्र मत दिनु पर्नेछ । प्रत्येक प्रदेशबाट आठजनाका दरले ५६ जना निर्वाचित हुन्छन्, यस मध्ये तीन जना महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यक र तीन जना सदस्य खुलाबाट निर्वाचित हुन्छन् । जसमा तीन–तीनजना महिला र खुला सदस्य एकल संक्रमणीय विधिबाट निर्वाचित हुन्छन् । एकजना दलित, एकजना अपांगता वा अल्पसंख्यक बहुमतीय प्रणालीबाट निर्वाचित हुन्छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा तीन जना राष्ट्रपतिबाट मनोनीत हुन्छन् । मनोनीतमा पनि एकजना महिला हुनु पर्छ ।

महिला र खुलाका लागि छुट्टै तथा दलित र अपांगता वा अल्पसंख्यकका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन् । मतभार छुट्याउन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्र पनि छुट्टाछुट्टै रङका हुन्छन् । जम्मा मतदाता २०५६ छन् । जसमा ५५० प्रदेश सभा सदस्य र १५०६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ४८ राखिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ । – नयाँ पत्रिकाबाट

आइतबार, पुस २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*