यसरी सम्पन्न भयो पहिलो ‘मिडिया फेस्टिभल’

ललितपुर, २३ पुस ।

समावेशी सञ्चार र मातृभाषा पत्रकारिता प्रवद्र्धनको उद्देश्य लिएर आयोजित पहिलो ‘मिडिया फेस्टिबल ११३८’ पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा शनिबार सम्पन्न भयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको यो महोत्सवको नारा ‘व्यावसायिक पत्रकारिताको आधार, समावेशी सञ्चार’ राखिएको थियो । महोत्सवमा नेपाल भाषा, आदिवासी जनजातिका साथै विविध भाषाका प्रकाशन गृह, टेलिभिजन तथा एफएम रेडियोका गरी २५ वटा स्टल थिए ।

महोत्सवमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जाशीलाई शगुन प्रदान र बेतालीले गुथेर अभिनन्दन गरिएको थियो । सञ्चार क्षेत्रका अग्रज जोशीले २००९ सालमा सम्पादन गरी निकालेको ‘कलाकार’ त्रैमासिक पत्रिकालाई नेपाली पत्रकारिताको इतिहासमा समावेशी पत्रकारिताको नमूनाका रुपमा लिइएको छ र यो पत्रिका त्यतिबेला नेपाल भाषा, नेपाली, हिन्दी र अँग्रेजी भाषामा प्रकाशित हुने गथ्र्यो ।

महोत्सवको उद्घाटन गर्दै संस्कृतिविद् जोशीले नव नेपाल निर्माणका लागि सञ्चारकर्मीहरु एकताबद्ध भै हातेमालो गर्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा ललितपुर रक्षामण्डल केन्द्रको अध्यक्ष भै खुकुरी दलको सामना गरेको र एक महिनासम्म कलाकृतिको प्रदर्शनी गरिएपछि कलाको महत्व जनतालाई बुझाउन कलाकार पत्रिकाको प्रकाशन आरम्भ गरेको संस्मरण पनि उनले सुनाए ।

सञ्चारविज्ञ तथा प्रशिक्षक रामकृष्ण रेग्मीले समावेशी पत्रकारितालाई हुर्काउने जिम्मा प्रकाशक र सञ्चारकर्मीहरुकै हातमा मात्र नछाडेर सञ्चार सेवाका प्रयोगकर्ताहरुले पनि त्यस अभियानमा सक्दो सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

अनुवाद प्रथाले समावेशी पत्रकारिता नहुने विचार प्रकट गर्दै उनले ठाउँ विशेषको मौलिकता र विशिष्टतालाई त्यहीँकै भाषा शैलीमा अभिव्यक्त गर्न सक्नुपर्ने बताए ।

महोत्सवमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ र मातृभाषा पत्रकारिताका पहिलो नेपाली पत्रकार धर्मादित्य धमाचार्यको तस्वीर सहितको क्यालेण्डरका साथै नेपाल भाषाका अग्रज पत्रकारहरुको संस्मरणात्मक पुस्तक र पत्रकारहरुको डायरी पनि सार्वजनिक गरिएको थियो ।

महोत्सवको एक हिस्साका रुपमा समावेशी सञ्चार, स्थानीय पत्रकारिता र मातृभाषा पत्रकारिताका विषयमा सञ्चारविज्ञ र स्थानीय जनप्रतिनिधिहरुसँग बहस कार्यक्रम गरिएको थियो । राजनीतिक विश्लेषक सिके लाल, वरिष्ठ पत्रकार युवराज घिमिरे र नेपाल भाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरसँगको बहस कार्यक्रम पत्रकार सुनील महर्जनले सञ्चालन गरेका थिए भने कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठसँगको अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चालन गरेका थिए ।

महोत्सवमा लोकप्रिय कलाकारहरुका साथै सञ्चारकर्मीहरुबाट सांगीतिक तथा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । – रासस

आइतबार, पुस २३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*