कीर्तिमानी आरोही पण्डितको अमेरिकामा मृत्यु

काठमाडौं, ६ असार । कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।

प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास गर्दै आउनुभएका सञ्चारकर्मी होमप्रसाद लम्सालले बताएको राससले जनाएको छ।

sanjau

कीर्तिमानी आरोही पण्डितको निधनको खबर वासिङ्टन डिसीस्थित नेपाली दूतावासले समेत पुष्टि गरेको छ । सञ्चारकर्मी लम्सालका अनुसार हिमाल चढ्ने क्रममा खराब मौसमका कारण पण्डितको शुक्रबार मृत्यु भएको हो ।

पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको आरोहण गरिसकेका थिए । उनले विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को, अफ्रिकाको किलिमान्जारो, युरोपको एलव्रसलगायत विभिन्न महादेशका हिमालको सफल आरोहण गरिसकेका थिए ।

sanjay-pandit

यसैबीच, आजको नयाँ पत्रिका दैनिकले आज मंगलबारको संस्करणमा लेखेको छ–लामो संगतपछि सञ्जय भाइले मलाई एक दिन आफ्नो योजना सुनायो– विश्वका सातै महादेशका सर्वोच्च शिखर चढ्ने । नेपाल, युरोप र अन्टार्टिकाका हिमाल त ऊ पहिल्यै चढिसकेको थियो । उसले मलाई भन्यो, ‘दाइ अब उत्तर अमेरिकाको डेनाली पिक पनि चढ्नुपर्छ ।’ यसअघिका सबैजसो आरोहणमा सञ्जयले मलाई अभिभावक नै मानेको थियो । म पनि हिमाल आरोही भएकाले सधैँ मसँग सल्लाह–सुझाब लिन्थ्यो । उसको सरलता र उत्सुकताले जो पनि सहयोगी बन्थ्यो, म पनि त्यसरी नै ऊसँग जोडिएको हुँ ।

सातै महादेशका उच्च शिखर चढ्ने योजनाअन्तर्गत यो सिजनमा उसले अमेरिकी शिखर डेनाली चढ्ने योजना बनायो । अमेरिका र नेपालको सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको अवसरमा सञ्जयले सो सपना पनि पूरा गर्ने अठोट लियो । तर, अमेरिका ऊ एक्लै जान चाहेन । सफलतामा साथ दिनुपर्छ भन्दै उसले कर नै गरेर मलाई पनि अमेरिका जान बाध्य बनायो । अमेरिकामै रहेका मेरो मित्र टासी शेर्पालाई पनि हामीले अभियानमा सहभागी बनायौँ ।

२ जुन (१९ जेठ) मा हामी काठमाडौंबाट साउथ कोरिया उड्यौँ, ३ जुनमा युएस पुग्यौँ । ७ जुनमा टल्किट्नाबाट आरोहणका लागि डेनाली आधार शिविर पुग्यौँ । १४ जुनमा क्याम्प ५ सम्म पुग्यौँ । १५ जुनको बिहान ९ः४५ मा समिटका लागि अघि बढ्यौँ ।

sanjay-pandit_JKqCkzfefn

डेनाली हिमाल उत्तर अमेरिकाको सर्वोच्च शिखर हो । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सजिलो होला, तर अमेरिकाको डेनाली चढ्न गाह्रो छ । अझ त्यो दिन त्यहाँ हावा धेरै चलेको थियो । तापक्रम माइनस ४०–५० डिग्री थियो । उकालो लाग्दै गर्दा सञ्जयको स्वास्थ्य बिग्रिसकेको थियो, ऊ धेरै कमजोर भइसकेको थियो । हामीले बीचबाटै फर्कौँ पनि भनेका थियौँ । तर, उसले मानेन । डेनालीको शिखर २० हजार एक सय ५६ फिटको उचाइमा छ । तर, ऊ १७ हजार दुई सय फिटसम्म मात्र पुग्न सक्यो । नसक्ने पक्का भएपछि उसले आफूले बोकेको ब्यानर हामीलाई दियो, फोटो खिचेर ल्याउनुहोला दाइ भनेर अनुरोध गर्यो । उसको अनुरोध स्विकार्दै हामी डेनालीको चुचुरोमा पुग्यौँ र ब्यानर फहरायौँ जसमा लेखिएको थियो– सेभेन समिट, एभरेष्ट टु डेनाली २०१७ ।

हिमाल चढ्नभन्दा तल झर्न गाह्रो हुन्छ । हामी फर्कँदा साझको ७ः१५ भएको थियो । फर्कँदा सञ्जयले निकै गाह्रो भयो, के गर्ने दाइ भन्यो । हामीले तिमीलाई जसरी पनि बचाउँछौँ भनेर भरोसा दियौँ । मैले उसलाई मेरो ज्याकेट खोलेर लगाइदिएँ । हामी रातभर तलतिर ओर्लिरह्यौँ । तर, सञ्जयको हालत झन्पछि झन् बिगँ्रदै थियो । बिहान ८ः३० देखि ऊ हिँड्नै नसक्ने भयो । रेस्क्युका लागि मेरो साथी टासी रेन्जर टिम लिन जानुभयो । टिम आयो । त्यसवेलासम्म ऊ सकी–नसकी बोलिरहेको थियो । तर, कहिले राइट, कहिले रङ कुरा गरिरहेको थियो ।

Sanjay-Panditt

उता मेरो हालत पनि खराब भइसकेको थियो । ३० मिनेटसम्म रेस्क्यु टोली नआएको भए म पनि बाँच्ने थिइनँ होला । मेरो साथी टासीको खुट्टामा पनि क्लोज बाइट भएको थियो । तर, त्यति प्रतिकूल अवस्थामा पनि हामीले सञ्जयलाई माइनस ४० डिग्रीबाट पनि बचाएर ल्याएका थियौँ । तर, क्याम्प ५ मा आउँदासम्म हामीसँग उसको शरीर मात्र थियो, प्राण उडिसकेको थियो ।

रेन्जर टोली उसको शव लिएर क्याम्प ५ मा आयो । त्यही टोलीको सहयोगले मात्र हामी पनि त्यहाँसम्म आउन सक्यौँ । उनीहरूले सञ्जय भाइलाई पनि बचाउन निकै प्रयास गरे । हेलिकोप्टर पनि मगाए, तर बचाउन सकेनन् ।

अहिले हामी टल्किट्ना भन्ने सानो–सानो गाउँमा छौँ । यो बेस क्याम्पबाट फस्र्ट एयरपोर्ट भएको स्थान हो । यहाँबाट साउथ कोरिया हुँदै काठमाडौं जान सकिन्छ । सञ्जय भाइको शव पनि यही गाउँमा छ । तर, हामीले हेर्न पाएका छैनौँ । सायद उनीहरूले नेपाली अधिकारीलाई जिम्मा लगाउने तयारी गरिरहेका होलान् ।

अन्तिम अवस्थामा उसले घर–परिवारलाई निकै याद गरिरहेको थियो । मलाई मेरी श्रीमतीसम्म पुर्याइदेऊ दाइ भनिरहेको थियो । तर, दुर्भाग्य ! उसको अन्तिम इच्छा पूरा गर्न हामी असफल भयौँ ।

         असार ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*