कुपोषण समस्या न्यूनीकरण गर्न हरियो झन्डा अभियान

दैलेख ।

गर्भवती अवस्थामा आमा र बच्चालाई दिनुपर्ने स्याहारमा कमी भएकै कारण बच्चामा कुपोषण हुने समस्या न्यूनीकरण गर्न सुनौला हजार दिनभित्रका आमा र बच्चा भएको घरमा हरियो झन्डा राख्ने अभियान सुरु भएको छ ।

जिल्लामा कुपोषण भएका बालबालिकाको संख्यामा कमी नआएको भन्दै नारायण नगरपालिका दैलेखले नगरभित्रका बालबालिकामा भएको कुपोषणको अवस्थामा कमी ल्याउन सुनौला हजार दिनअन्तर्गत घरमा हरियो झन्डा गाड्ने अभियान सञ्चालन गरेको हो ।

हरियो झन्डा राख्दा सो घरमा सुनौला हजार दिनका आमा तथा बच्चा छन् भन्ने जानकारी स्वास्थ्यकर्मीलाई समेत हुने र परिवारका सदस्यले समेत खानपिनमा ध्यान दिनुपर्छ भन्ने भाव झल्काउन अभियान सञ्चालन गरेको नारायण नगरपालिका वडा–१० का स्वास्थ्य चौकी इन्चार्ज नमराज सुवेदीले बताए ।

अभियानले गर्भावस्थादेखि दुुई वर्षभित्रका बालबालिकाको पोषण स्थिति पत्ता लगाउन सजिलो हुनुका साथै कुनै पनि बच्चा पूर्ण खोप लगाउन नछुटाऊन् र तौल मापन गर्न समेत सहज हुने उनले बताए ।

नारायण नगरपालिका–११ वटै वडामा सुनौला हजार दिनका आमा र बच्चाका घरमा हरियो झन्डा गाड्ने तयारी गरेको नारायण नगरपालिका दैलेका स्वास्थ्य शाखा प्रमुख लालबहादर खड्काले बताए ।

‘यो अभियानले नगरभित्रका बालबालिकाको पोषणको अवस्थामा समेत सुधार ल्याउने विश्वास छ,’ उनले भने ।

आइतबारदेखि वडा–१० र वडा ४ बाट उक्त अभियानको सुरुवात गरिएको छ । अभियानको सुरुवात प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेल र नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ले संयुक्त रूपमा गरेका थिए ।

अभियान सुरु गर्दै नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्लले आमा र कम तौल भएका बच्चाको हेरचाह तथा खानपिन, स्याहार सुसारका साथै आमा र शिशु सुरक्षाका लागि यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । महिला लक्षित रकमअन्तर्गत नारायण नगरपालिकाले आमा र बालबालिकाको पोषण संवेदनशीलतालाई ध्यानमा राखी सो अभियान सञ्चालन गरेको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले बताए । निर्वाचनको बेला गरिएको प्रतिबद्धताअनुरूप उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे ।

अभियानका लागि नगरपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमबाट वडास्तरमा कृषि युनिट उन्नत बीउ वितरण गर्ने, पशुसेवा युनिटअन्तर्गत ६ सय आमालाई उन्नत जातका कुखुरा वितरण गर्ने, महिला तथा बालबालिका शाखाबाट व्यवहार परिवर्तन र सशक्तीकरणका काम गर्ने कार्यक्रम रहेको बताइएको छ । (‘राजधानी’बाट)

मंगलबार,१० पुस, २०७५ मा प्रकाशित /(Published on Tuesday, December 25, 2018)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*