खरेल र अधिकारीलाई ‘लीलाध्वज साहित्य सम्मान’

किरण खरेल

काठमाडौं, ११ असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले गीतकारद्वय किरण खरेल र दिनेश अधिकारीलाई  ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ ।

गीत रचनाको माध्यमबाट खरेल र अधिकारीले नेपाली साहित्यको क्षेत्रलाई फराकिलो बनाएकाले उनीहरुको योगदानलाई कदर गरी प्रतिष्ठानले दोसल्ला ओढाएर ताम्रपत्रसहित शनिबार (१० असार) सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित ‘लीलाध्वज साहित्य सम्मान’ छनोट समितिले खरेल र अधिकारीलाई सम्मानका लागि सिफारिस गरेको थियो । खरेल गीत लेखनमा सक्रिय छन् भने निजामती सेवामा सचिवबाट अवकाश प्राप्त गरेका अधिकारीले पनि गीत रचना गर्दै आएका छन् ।

दिनेश अधिकारी
दिनेश अधिकारी
किरण खरेल
किरण खरेल

यहाँ आज आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरेले उनीहरुलाई सम्मान गर्दै स्रष्टाले मुलुकका विभिन्न भूभाग तथा जाति समुदायका यथार्थतालाई नजिकबाट बुझेर नेपाली समाजको सशक्तीकरणका लागि सिर्जना गर्नुपर्नेमा जोड दिए ।

गीतकार खरेलले विविधताले भरिएको नेपाली समाजमा साहित्यले मुलुकमा बस्ने नागरिककाबीच सहअस्तित्व तथा सामाजिक सद्भाव कायम गरी राष्ट्रलाई प्रगतितर्फ लैजाने विश्वास व्यक्त गरे ।

अर्का गीतकार अधिकारीले गीतकारले सबै समुदायका संस्कृतिलाई संरक्षण गर्न सकेमा त्यसले नेपाली समाजको एकता अभिवृद्धि हुने र राष्ट्रियता सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले साहित्यको माध्यमबाट समाजको विकासमा अग्रसर रहने स्रष्टालाई सम्मान तथा पुुरस्कृत गर्ने संस्थाको नीति रहेको बताए  ।

   असार ११, २०७४ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*