क्यान्सरले एमाले सांसद लिम्बूको निधन

काठमाडौं, ११ असार । नेकपा (एमाले) का केन्द्रीय .सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोग (क्यान्सर) का कारण गए शनिबार राति धरानमा निधन भएको छ ।

धनकुटास्थित साबिकको बुढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मेको लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री थिइन् ।

विसं २०४९ मा उक्त गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बूले २०५५ सालमा गाविस राष्ट्रिय महासङ्घको अध्यक्ष निर्वाचित भई देशभरका गाविसलाई नीतिगत नेतृत्व प्रदान गरेकी थिइन् ।

विसं २०५३ देखि २०६१ सम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र २०६२ मा कोशी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी लिम्बू २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र २०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । अखिल नेपाल महिला सङ्घका विभिन्न कमिटीमा रहेर काम गर्नुभएकी महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गरेकी थिइन् ।

उनका पति, दुई छोरा र एक छोरी छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजै बिहान धरान पुगेर दिवङ्गत लिम्बूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनाका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना दिएका छन् । उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

राससले जनाएअनुसार, एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ति जारी गरी लिम्बूको निधनबाट पार्टीले एक अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको नभई जनताले असल जनसेवी अभिभावक गुमाएको जनाएका छन् ।

   असार ११, २०७४ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*