खुला ठाउँमा दिसा गर्ने सरकारी शिक्षक निलम्बित !

काठमाडौं, २८ भदौ ।

तपाईंले लापरवाही, भ्रष्टाचार अथवा घुसखोरीले गर्दा कुनै कर्मचारीलाई निलम्बन गरिएको वा कुनै कारवाही भएको सुन्नु भएकै होला तर भारतको मध्य प्रदेश राज्यमा एउटा अनौठो किसिमको मामिला सार्वजनिक भएको छ । यस राज्यको अशोकनगर भन्ने ठाउँमा एकजना शिक्षकलाई केवल यसकारण निलम्बन गरिएको छ, उनी दिसा गर्नका लागि खुला ठाउँमा गएका थिए ।

मध्य प्रदेश मात्र नभएर समग्र भारतमै कुनै सरकारी कर्मचारीलाई खुला स्थानमा दिसा गर्न गएको आरोपमा निलम्बन गरिएको यस किसिमको यो पहिलो घटना हुन पुगेको छ ।

जिल्ला शिक्षा अधिकारी तथा अतिरिक्त मुख्य कार्यपालन अधिकारीले सोमबार बुढेरास्थित शासकीय प्राथमिक विद्यालयका सहायक शिक्षक महेन्द्र सिंह यादवलाई निलम्बन गर्ने आदेश जारी गरेका थिए ।

निलम्बन आदेशमा भनिएको छ, ‘केन्द्रीय शासनको महत्वकांक्षी योजना ‘स्वच्छ भारत अभियान’ को उल्लघंन गर्दै घरमा भएको शौचालय प्रयोग नगरी खुला स्थानमा शौच गर्न गएको दोषी पाइएको छ । सरकारी कर्मचारी भएर पनि शासनका निर्देशनहरूको अवहेलना गर्नु कदाचारको श्रेणीमा आउँदछ । यसकारण उहाँलाई शिक्षक पदबाट निलम्बन गरिएको छ ।’

आदेशमा अगाडि निलम्बन अवधिमा महेन्द्र सिंह यादवको मुख्यालय ईसागढ रहने र उनलाई नियमानुसार जीवन निर्वहन भत्ता उपलब्ध गराइने उल्लेख छ ।

स्मरणीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीको केन्द्र सरकारले ‘स्वच्छ भारत अभियान’ को सुरुआत २ अक्टोबर २०१४ मा गरेको थियो । यसलाई भारतीय जनता पार्टी सरकारको निकै महत्वाकांक्षी योजनामध्ये एक मानिएको थियो । ‘स्वच्छ भारत अभियान’ अन्तर्गत के लक्ष्य राखिएको छ भने २ अक्टोबर २०१९ सम्ममा भारतलाई खुला ठाउँमा दिसा–पिशाबबाट मुक्त क्षेत्र बनाइने छ । भारत सरकारले आफ्नो यस महत्वाकांक्षी योजनाबारे निकै जोडतोडसाथ प्रचारप्रसार पनि गर्दै आएको छ । (एजेन्सीको सहयोगमा)

   बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*