खुला सीमाबाट नेपाल छिर्दै म्यान्मारका रोहिंग्या मुस्लिम, नेपाल ‘सेफ जोन’

काठमाडौं, ६ असोज ।

म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको पाइएको छ । म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका हुन् ।

रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुँदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ । सीमाबाट काठमाडौं आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जाँच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयाँ आगन्तुकलाई नेपाल-भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन् ।

कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारांै तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन् ।

कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन् ।

सुरुदेखि यहाँ बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ ।

मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी (बोर्डर आउट पोस्ट)हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए । –अन्नपूर्ण पोस्ट

शुक्रबार, असोज ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*