खुलेर समानताको बहस चलाऊँ साथी

आलेख/सीता भुसाल

प्रिय किरण,

तिमी स्वास्थ्यकर्मी भएदेखि पातलिएको हाम्रो भेट राज्यको पुनसंरचनाले फरक गाउँपालिकाहरूमा बसोबास गर्न थालेदेखि झन पातलिएको छ । तर जिल्लामा हामीले महिला अधिकारको वकालत गर्दै बिताएका सबै पलहरू मनभित्र एक एक गरी चाङ लागेर बसेका छन् ।

आमा, श्रीमती, बुहारी र एक असल स्वास्थ्यकर्मीको भूमिकामा बाँधिएकी तिमी मभन्दा धेरै व्यस्त छौ होला । हुन त व्यस्तताभित्र थोरै समय निकालेर रमाउनुपर्ने बाध्यता औसत नेपाली महिलालाई छ । अस्ति सदरमुकाम गएको बेला जनस्वास्थ्य कार्यालयका बहिनीहरूले परिवार नियोजन दिवसको ब्यानर बोकेर हिँडेको देखेँ । अनि तिमीलाई सम्झेँ । सायद तिमी पनि परिवार नियोजन दिवसको तयारीमा हौली र गाउँका महिलाहरूलाई परिवार नियोजनको महत्व र फाइदाका विषयमा बताइरहेकी छौ होला भन्ने ठानेँ । मलाई पनि तिम्रो मुखबाट सुन्न मन थियो परिवार नियोजनका स्थायी र अस्थायी साधनको महत्व र फाइदाका बारेमा । तर समयले साथ दिएन ।

sita bhusal

– सीता भुसाल

सायद तिमीलाई याद छैन होला, तिम्रो सुझावलाई मानेर संगिनी सूईको प्रयोग छोडेर कपर–टीको प्रयोग मैले केही वर्ष अगाडि गरेकी थिएँ जसले संगिनी सूईका साइड इफेक्टहरूबाट बचाई मेरो यात्रालाई सहज बनाएको छ । आजसम्म कपर–टी नै प्रयोग गरिराखेकी छु । परिवार नियोजनका साधनले म जस्ता धेरै नेपाली महिलाको जीवनलाई सहज बनाएको मेरो बुझाइ छ । शिक्षा, चेतना र प्रविधिको विकासले ल्याएको सहजताभन्दा पनि बढी । तर संविधान दिवसको अघिल्लो दिन पर्ने यो दिवसको विषयमा म पूरै अनविज्ञ थिए । धेरै सार्वजनिक बहस नभएर हो वा तिम्रो संगत हटेर हो !

तिमी टाढा भए पनि यो पाली परिवार नियोजनका साधन प्रयोगकर्ताको विषयमा बुझन मैले गुल्मी मुसिकोट नगरपालिकाका स्वास्थ्य प्रमुख डिबी कार्कीलाई केही प्रश्न सोधेकी थिएँ– यस नगरपालिकामा महिला र पुरुष परिवार नियोजनका प्रयोगकर्ताको अवस्था के कस्तो छ भनेर । परिवार नियोजनका साधन प्रयोगकर्ताको अवस्था बढ्दो भएको उनले बताएका थिए ।

तर ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषले मात्र परिवार नियोजनका साधनहरू प्रयोग गर्दछन् भन्ने उनको जवाफले भने म द्विविधामा परेकी छु । तिम्रो गाउँतिर पनि यस्तै हो कि अवस्था अलि फरक छ ? परिवार नियोजनका साधन प्रयोगकर्ता बढ्नु अझ त्यसमा महिला प्रयोगकर्ता बढी हुने कुरा आफैँमा राम्रो छ । परिवार नियोजनका साधन प्रयोगले तिमी र मजस्ता केही गर्न खोज्ने हजारौं दिदी बहिनीहरूलाई सहजता थपेको छ । गर्भपतनको दर घटाएको छ । महिलाको स्वास्थ र स्वतन्त्रता दुवै कुरामा उल्लेख्य सुधार ल्याएको छ । हैन भने त हामीले पनि हाम्रा हजुरआमाहरूले जस्तै छोराछोरी हुर्काउँदैमा मात्र जिन्दगी बिताउन पर्दथ्यो होला, अथवा बच्चा जन्माउन नसकेर मृत्यृवरण गर्नुपर्दथ्यो ।

Gender-Equality-in-Nepal

प्रिय, तिमी स्वास्थकर्मी भएको नाताले प्रजनन दर घटेको प्रतिवेदन बनाउन व्यस्त छौ होला । जन्मदर घटेकोमा जनस्वास्थ्यको सफलता देख्छ्यौ होला । मैले त परिवार नियोजनका साधन प्रयोगले जन्मदर कमसँगै हामीले भोगेको स्वतन्त्रता अझ बढी देख्छु । एउटा बच्चाकी मात्र आमा भएर जुन सहजता र स्वतन्त्रता मैले पाएकी छु, र जीवन र जगतलाई थोरै भए पनि अलि नजिकबाट बुभ्mने अवसर पाएकी छु, ती सबैको धेरै श्रेय परिवार नियोजनका साधनहरूलाई नै छ । सायद मेरो पुस्ताका धेरैको अनुभव यस्तै छ ।

प्रिय, लामो समय सहकार्यमा रहेकी तिमीलाई थाहा छ, म अलि असन्तोषी स्वभावकी छु । विभेद पटक्कै चित्त बुझाउँदिन । हरेक असमानतामा प्रश्न गर्न खोज्छु । कारण बुझ्न खोज्छु । त्यसैले होला परिवार नियोजन प्रयोगकर्ता महिला मात्र हुने कुरा पनि मलाई चित्त बुझेको छैन । बच्चा जन्माउने जिम्मेवारी प्रकृतिले महिलालाई सुम्पेको छ भन्दैमा नजन्माउने जिम्मेवारी पनि महिलाले नै लिनुपर्ने हो र ? पति÷प्रेमीले साझेदारी गर्न सक्दैनन ? प्रेम त समानताभित्र फुल्छ । समानता जीवनका प्रत्येक चरणमा हुन जरुरी छ । यौन जीवन सन्तुलित र सुखी हुन पनि महिला पुरुष दुवैको समान सहभागिता जरुरी छ ।

खुसीसाथ समझदारीमा नगरिएका हरेक सम्बन्धहरू बलात्कार हुने यौन विज्ञहरू बताउँछन । सायद तिमीले पनि यस्तै सोच्दै छौ होला । तिम्रो कार्यालयको प्रतिवेदन बनाइरहँदा र मनमनै भन्दी हौ, हामीले बनाउन खोजेका महिला पुरुष समानताको घर कहिले बन्छ होला भनेर । तिम्रा पुरुष सहकर्मीहरूको आँखामा यो विभेद पटक्कै देखिँदैन होला । किन पो देखियोस् ? हामीले जस्तो अनिच्छित गर्भ रहँदाका पीडा उनीहरूले कहिल्यै भोग्नुपरेको छैन । मुटु दुखाएर आँखा रसाएर जबरजस्त गर्भपतन गर्नु परेको छैन । पीडाले छियाछिया परेको मन बोकेर समाजको सामु मुस्कुराउनु परेको छैन । सानो लापरवाहीले जिन्दगीरभर पाठेघरको समस्या बोक्नुपरेको छैन । हुन त आफूसँग हँुदै नभएको पाठेघरको के चिन्ता पुरुष मित्रहरूलाई ? तर एकपटक सम्झाइदेऊ है उनीहरूलाई, त्यही पाठेघरभित्र ९ महिना बसेर मात्र तिमीहरूले यो सुन्दर संसार देख्ने अवसर पाएका हौ । त्यसैले यसको सुरक्षा महिलाको सुरक्षा मात्र होइन, तिम्रोे पनि हो भनेर ।

gender equality

समानताको अनुभूति त मनले गर्नु पर्दोरहेछ । संविधानमा व्यवस्था गरेको समानताको हकले प्रत्येक मनलाई नछुँदासम्म त्यसको अर्थ नहँुदो रहेछ । यस्ता असमानताहरू हटाउन तिमीजस्ता मानव अधिकार र महिला अधिकारको वास्तविक मर्म बुझेका स्वास्थ्कर्मीहरूको आवश्यकता छ । त्यसैले प्रिय, छलफलको विषय बनाऊ यसलाई र भन स्वास्थकर्मीहरूको स्थानीय र राष्ट्रिय फोरमहरूमा– परिवार नियोजनका प्रयोगकर्ताहरू महिला मात्र हुने कुरा गणतन्त्र नेपालमा सुहाउँदैन । संगिनी सूई, नरप्लान्ट र पिल्स प्रयोगले महिलाको स्वास्थमा पारेको प्रभावको विषयमा पनि अलि चर्को स्वरमा आवाज उठाऊ । अनि भनीदेऊ– सुखी र सानो परिवार बनाउने सम्पूर्ण दायित्व महिलाको मात्र होइन । यो हामी सबैको हो । साना र मसिना कुराहरूमा अल्झेको महिला पुरुषको भेदभावले नै महिला पुरुष विभेदको खाडललाई पुर्न सकेको छैन । महिलामाथि हुने शारीरिक र मानसिक हिंसाका रूपहरूलाई न्युनीकरण गर्न सकेको छैन । महिलाहरूलाई सम्पूर्ण हिसाबले मानवको दर्जा दिन सकिरहेको छैन ।

तर प्रिय, यस्ता विभेद प्राकृतिक होइनन्, मानव निर्मित हुन् भन्ने बुझेका तिमी, म र हजारौं मानवअधिकारकर्मीहरूले अभियानको रूपमा आजैको दिनदेखि सुरुआत गर्ने हो भने हाम्रो छोरी पुस्ताले हामीले जस्तो नमिठो अनुभूति गर्ने छैनन् । सबैले चाहे असम्भव के छ र ?

उही
तिम्रो साथी

मंगलबार, असोज ३१, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*