गणतन्त्रपछिकै ठूलो मन्त्रिपरिषद् : ५० जना मन्त्री, प्रधानमन्त्रीसँग अझै चार मन्त्रालय

काठमाडौं, ७ भदौ ।

चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित मन्त्री बनेका छन् ।

देउवाले २३ जेठमा निर्वाचित भएपछि शपथ लिएकै दिन २४ जेठमा सात मन्त्री चयन गरेका थिए । १५ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको बहानामा देउवाले दोस्रोपटक सरकार विस्तार गर्न ४९ दिन लगाएका थिए । ११ साउनमा सरकार विस्तार हुँदा १९ मन्त्री थपिएका थिए । तीन दिनअघि माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिएका थिए । मंगलबार चौथोपटकमा कांग्रेस र लोकतान्त्रिक
फोरमबाट राज्यमन्त्री थपिएका हुन् ।

रेकर्ड देउवाकै नाममा, ०५२ सालमा ५२ मन्त्री
यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्डनजिक पुगेका छन् । प्रधानमन्त्रीसँग बाँकी भएका चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवाले आफ्नै रेकर्ड तोड्नेछन्।

०६२–६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो ।

प्रधानमन्त्रीसँग अझै शान्ति तथा पुनर्निर्माण, वन, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी छन् । यी मन्त्रालयमा पनि मन्त्री थपिँदा मन्त्रिपरिषद्को आकार ५४ पुग्नेछ । यस्तो अवस्थामा सरकार इतिहासकै ठूलो आकारको हुनेछ ।

यी हुन् मंगलबार थपिएका १५ राज्यमन्त्री
कांग्रेसबाट
१. सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात)
२. सरिता प्रसाईं (कृषि विकास)
३. शेषनाथ अधिकारी (शिक्षा)
४. नरबहादुर चन्द (वाणिज्य)
५. अब्दुल रज्जाक (खानेपानी)
६. तप्तबहादुर विष्ट (सूचना तथा सञ्चार)
७. अमरसिंह पुन (सिँचाइ)
८. दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय मामिला)
९. उदयशमशेर राणा (अर्थ)
१०. डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार)
११. तेजुलाल चौधरी (युवा तथा खेलकुद)
१२. चम्पादेवी खड्का (सहकारी तथा गरिबी निवारण)

फोरम लोकतान्त्रिकबाट
१३. जनकराज चौधरी (संघीय मामिला तथा स्थानीय विकास)
१४. सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन)
१५. यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराए । शपथपछि देउवाले मन्त्रीहरूलाई सहयोग पुग्ने गरी काम गर्न राज्यमन्त्रीहरूलाई निर्देशन दिए । –नयाँ पत्रिका

 बुधबार, भदौ ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*