गोरखापत्र संस्थानको नि.महाप्रबन्धकमा हरिकला

काठमाडौं, ९ साउन । गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक हरिकला अधिकारीले आइतबारबाट गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी लिनुभएको छ । उहाँ गोरखापत्र संस्थानको ११ तहको प्रबन्ध सम्पादक हुनुहुन्छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आइतबार गोरखापत्र संस्थानलाई लेखेको पत्रअनुसार महाप्रबन्धक सुशील कोइरालाको चार वर्षे सेवा अवधि (कार्यकाल) साउन ५ बाट सकिएकाले संस्थानको कर्मचारी सेवा शर्त विनियमावली २०५२(संशोशनसहित) अनुसार अधिकारीले निमित्त महाप्रबन्धकको जिम्मेवारी लिनुभएको हो । कोइराला खुला प्रतिस्पर्धाबाट चार वर्ष अघि गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त हुनुभएको थियो ।

निमित्त महाप्रवन्धक अधिकारीले संस्थान विनियमावलीको विनियम ४५ बमोजिम कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नुभएको संस्थान प्रशासनले जनाएको छ । संस्थानका नायब महाप्रबन्धक गोपालप्रसाद भट्टराईले संस्थान नियमावली अनुसार संस्थानको वरिष्ठतम कर्मचारीले स्वतः जिम्मेवारी लिने व्यवस्था भए अनुसार आइतबारबाटै अधिकारीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुभएको जानकारी दिनुभयो । (गोरखापत्र)

      सोमबार, साउन ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*