गौरिकालाई तेस्रो स्वर्ण, देविकालाई जूडोमा स्वर्ण

खेल संवाददाता

काठमाडौं । लगातार प्रभावशाली प्रदर्शन गर्दै अगाडि बढिरहेकी नेपालकी महिला पौडीबाज गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा आइतबार तेस्रो स्वर्ण पदक जितेकी छन् । यसरी उनले सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् ।

पछिल्लोपटक सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेन्डमा पूरा गर्दै भारतकी शिवांगी सिंहलाई पछि पारिन् । शिवांगीले ४ मिनेट २६।२२ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१।९१ सेकेन्डमा दूरी पूरा गरिन् ।

जारी १३ औं सागमा गौरिकाको तेस्रो स्वर्ण हो । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।

यससँगै गौरिकाले नेपाली खेलकुदको इतिहासमा एकै संस्करणमा धेरै स्वर्ण पदक जितेर सर्वाधिक सफल खेलाडी बन्ने कीर्तिमान कायम गरेकी छिन् । त्यसो त समग्रमा सर्वाधिक सफल खेलाडी भने तेक्वान्दोका दीपक विष्ट मानिन्छन् जसले विभिन्न संस्करणमा गरी सागमा कुल चार वटा स्वर्ण पदक जितेका छन् ।

जुडोमा देविकाले दिलाइन् स्वर्ण

जारी १३ औं सागमा नेपालकी देविका खड्काले आइतबार जुडोमा स्वर्ण जितेकी छन् ।

Devika-Khadka-13th saag

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् ।

चार देश सहभागी यो इभेन्टमा देविकाले पहिलो खेलमा श्रीलंकाकी हाथुरुसिन्घे गेडारालाई पराजित गरेकी थिइन् । दोस्रो खेलमा भारतकी गायत्री टोकसलाई हराएकी उनले तेस्रोमा बंगलादेशकी तहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण पदक जितेकी छन् ।

साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण
जारी १३ औं सागअन्तर्गगत महिला टी ट्वान्टी क्रिकेटको स्वर्ण पदक बंगलादेशले जितेको छ । आइतबार फाइनलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गरेको हो ।

बंगलादेशले प्रस्तुत गरेको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८९ रन बनाएपछि रजत पदकमा चित्त बुझाउनु पर्ने भएको हो।

saag women cricket bangaladesh

श्रीलंकाकी कप्तान हर्षिता माधवीले ३३ बलमा ४ चौका सहित ३२ रनको योगदान दिइन् । त्यस्तै लिहिनी अप्सराले २८ बलमा २ चौका सहित २५ रनको योगदान दिइन् । उमिषा थिमाशिनी ७, जानदी अनली १, काभिष्का दिलहरी ४ रनमा आउट भए ।

बंगलादेशकी नहिदा अख्तर २, जहानरा आलम, सल्मा खातुन र खादिजा तुल कुर्बाले १–१ विकेट लिए । त्यस अघि पोखरा रंगाशालमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

बंगलादेशकी ओपनर मुर्सिदा खातुनले १५ बलमा ३ चौका सहित १४ रनमा आउट हुँदा अर्की ओपनर आयशा हमान २ रनमा आउट भइन् । सञ्जीदा इस्लाम १५, निगर सुल्तना २९ र फहिम खातुनले १५ रनको योगदान दिइन् ।

श्रीलंकाकी उमिषा थिमाशिनीले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् । सत्या सन्दीपनी, थारिका सेवान्डी, काभिष्का दिलहारी र मल्शा रन्तुगांले १–१ विकेट लिए । बंगलादेश र श्रीलंका दुबैसँग पराजित भएको नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य जितेको थियो ।

विश्व कीर्तिमानी अञ्जली सर्वोत्कृष्ट घोषित
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी बलर अञ्जली चन्द १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

Saag cricket Anjali Chand

दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै अञ्जली प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी चुनिएकी हुन् ।

लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई १० विकेटलेनै हराएको थियो । सुदूरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकानिवासी चन्दले  उक्त खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि विश्व कीर्तिमान कायम गरेकी थिइन्, जुन महिला र पुरुष दुबै टी २० क्रिकेटमा  सर्वोत्कृष्ट प्रर्दशन हो ।

अञ्जलीले सागमा ४ खेलमा ५ मेडन सहित ३० रन खर्चेर ११ विकेट लिएकी थिइन् । सागमा सर्वाधिक विकेट लिने खेलाडी पनि अञ्जलीनै रहिन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेकी बंगलादेशकी नाहिदा अख्तरले ४ खेलमा ८ विकेट लिइन् ।

बंगलादेशसँग १० विकेट र श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको थियो भने कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको थियो ।

साग भारोत्तोलनमा नेपालको प्रदर्शन, २ स्वर्णसहित १६ पदक जित्यो

नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुदको भारोत्तोलनमा उच्च प्रदर्शन गर्दै २ स्वर्ण पदकसहित १६ पदक जितेको छ । सागमा यो नेपालको अहिले सम्मकै उच्च प्रदर्शन हो । नेपालले भाग लिएको २० मध्ये १६ इभेन्ट्समा पदक जितेको छ ।

पोखरामा चार दिनसम्म चलेको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य सहित कुल १६ पदक जित्न सफल भएको हो । शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो । प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो । भुटानको पहिलो सहभागिता रहेकोमा माल्दिभ्स खेल्न आएन ।

saag-wetlifting-nepl team

प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ६ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते । भुटानले १ मात्र कास्यमा चित्त बुझायो । नेपालको तर्फबाट सञ्जु चौधरी ९महिला ५९ केजी० र विकास थापा ९ ८९ केजी० तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो ।

अघिल्लो १२ औं संस्करणसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्ण सहित २३ रजत र ८६ कास्य जितेको थियो । पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ ।

यसैबीच, आइतबारको खेलमा नेपालका लागि सागर भण्डारीले १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन् । सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् ।

सागरले राष्टिय रेकर्ड कायम गर्दै स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता राकेश तण्डुकारले जनाए । प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।

आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो । १०९ किलो तथा १०९ प्लस किलो तौल समूहमा स्वर्ण जित्ने पाकिस्तान खेलाडी बुट सहोदर दाजुभाइ हुन् । १०९ प्लसमा श्रीलंकन खेलाडी डब्लु पी यु चर्काले रजत जिते ।

उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन् । पुकारको स्न्याच तर्फ राष्ट्रिय रेकर्ड हो ।
आइतबार, मंसिर २२, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*