घाम अर्थात् सर्वोत्तम प्राकृतिक औषधि

– डा. अरुणा उप्रेती
मेरो घरको बगैँचाको एक कुनामा मेवाको बिरुवा तीन वर्षदेखि हुर्कंदै थियो । घाम नलाग्ने ठाउँमा उम्रेको त्यो बिरुवालाई ‘कुपोषण भयो’ भनेर बगैँचामा आउने मालिनी दिदीले मल पनि हालिन् तर बिरुवा राम्रोसँग फस्टाएन । एक दिन एकजना कृषिविद् घरमा आएको बेला त्यो मेवाको बिरुवा देखेर भन्नुभयो, ‘यो बिरुवा मर्न थालेको छ । यसलाई त घाम नै भएन । उ त्यो घाम आउने ठाउँमा रोपेर हेर्नुस् । मौलाँउछ कि ?’ उनको सल्लाह अनुसार मालिनी दिदीले बडो जतनसाथ घाम लाग्ने ठाउँमा रोपीदिएपछि त एक वर्षमा नै हलक्क बढेर ३५ वटा मेवा फले । घामको सेवा पाएपछि हलक्क बढेको त्यो मेवाको रुख देखेर मालिनी दिदीले भनिन्, ‘सूर्यको दर्शन नपाएर पो त मर्न लागेको रहेछ । यदि रुखलाई सूर्यको किरण नपाएर यस्तो हुँदो रहेछ भने मानिसलाई के होला ?’ उनको कुराले मलाई झसंग गरायो र मलाई मेरी साथी सपनाको याद आयो ।
……………..
‘म अमेरिकाको बोस्टनमा बस्दा मेरो जिउ र ढाड एकदम कट्कटी दुख्ने र एकदम थकाइ लाग्ने भएपछि डाक्टरकहाँ गएँ । उनले मेरो रगत जाँच गरेपछि मेरो शरीरमा भिटामिन ‘डी’ कमी भएको र बिस्तारै हड्डी फुसफुसे हुने समस्या भएको बताए । केही समयका लागि उनले भिटामिन ‘डी’को चक्की दिए र भने, ‘तपार्इं नेपाल गएपछि यी चक्की खानु पर्दैन । वर्षभरि नै घाम लागिरहने तपार्इंको देशमा त भिटामिन डी छताछुल्ल छ । हरेक दिन १५–२० मिनेट सीधै घाम छालामा पर्ने गरी घाममा बस्नुहोस् । बोस्टनमा पो धेरै समय घाममा बस्न पाइन्न । जहिले पनि एअर कन्डिसनयुक्त कोठामा बस्दा यस्तो हुन जान्छ ।’
‘डाक्टरको कुराले मेरा आँखा खुलेको जस्तै भएको थियो र काठमाडौं फर्केर हरेक दिन घाममा बस्ने गरेको छु,’ ४५ वर्षीय सपना श्रेष्ठले भनेकी थिइन, ‘अमेरिकाका डाक्टरले घाममा बस्ने सल्लाह दिएको त मलाई साह्रै मन प¥यो ।’
भिटामिन डी पाँच प्रकारको हुन्छ । भिटामिन डी, भिटामिन डी, भिटामिन डी, भिटामिन डी र भिटामिन डी । मानव शरीरका लागि भिटामिन डी अति आवश्यक छ । तर सजिलैसँग घाममा बसेपछि यो पाइन्छ पनि ।
जाडोको बेलामा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ ? तर त्यसले आनन्द मात्र दिने होइन, स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो नै हुँदैन । रुख–बिरुवा, पात, पतिगर, फूल सबैलाई घाम चाहिन्छ नै । शरीरिक विकासका लागि मात्र होइन, मानसिक रूपमा स्वस्थ रहन पनि घाम चाहिन्छ । त्यसैले उहिले उहिले जाडोमा घाममा बसेर तेल लगाउने चलन चलाएका थिए होलान् ।
अहिले धेरै औषधी कम्पनीहरूले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्दै भ्रमपूर्ण कुराहरू बाहिर ल्याउँदै छन । विदेशमा पनि स्वास्थ्यकर्मीहरू महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम र भिटामिन डीका चक्की दिन सुरु गर्दछन् । जुन समस्यालाई पनि औषधीले मात्र समाधान गर्ने हाम्रो बानीले गर्दा हामी प्राकृतिक कुरा त उपयोग नै गर्न बिर्सेको जस्ता भएका छौँ ।
भिटामिन डी प्राप्त गर्न छालामा सीधै सूर्यको किरण पुग्ने गरी २०–२५ मिनेटकै लागि बसे पुगिहाल्छ । भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक दुई दिन घाममा नबस्दैमा खासै केही समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा ‘घाममा बस्न पाइन’ भनेर चिन्ता गर्न पर्दैन । ८०% भिटामिन डी सूर्यको किरणबाट पाइन्छ भन्ने वैज्ञानिक तथ्य अहिले थाहा भइरहेको छ ।
… … …
निजी बैंकमा काम गर्ने एक ३० वर्षीया महिला, निशा, हात खुट्टा जिउ दुख्यो भनेर डाक्टरकहाँ गइन् । उनलाई थकाइ लाग्ने, हात खुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम नगरेको अनुभूति समेत हुन्थ्यो । धेरैजना डाक्टरकहाँ गइसकेपछि बल्ल एक दिन एकजना स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् । जाँच गरेपछि पो थाहा भयो– उनलाई त भिटामिन डीको कमीले पो यस्तो भएको रहेछ । डाक्टरले उनलाई खान भनेर भिटामिन डीको चक्की लेखिन् तर साथै के पनि भनिन् भने ‘तपार्इंले हरेक दिन कमसेकम १५–२० मिनेट घाममा बस्नुपर्छ । घाममा बस्दा छालामा सीधै घाम पर्नुपर्छ । लुगाबाट छिरेर वा सिसाबाट छिरेर तापिएको घाम त्यति काम लाग्दैन । अन्य आवश्यक काम गर्ने भएकोले फुर्सत छैन भनेर घाममा बसिएन भने औषधीले मात्र यो समस्या समाधान हुँदैन ।’ प्रायः स्वास्थ्यकर्मीले भिटामिन डीका बारेमा भन्दा यो सजिलैसँग सूर्यको किरणमा पाइन्छ भनेर भन्दैनन्, तर ती स्त्रीरोग विशेषज्ञले चाहिँ भनिन् ।
बृद्धाश्रम बस्ने बुढाबुढी, अस्पतालमा लामो समयसम्म बस्ने बिरामी, घरभित्र नै बसेर कम्प्युटर खेलिरहने बालबालिकालाई भिटामिन डीको कमी हुन सक्ने सम्भावना हुन्छ । त्यसैगरी लामो समय एयर कन्डिसनमा बसेर काम गर्ने व्यक्तिहरूलाई पनि भिटामिन डी कमी हुन सक्छ ।
… … …
पहिले पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो । पुर्खाहरूलाई सायद भिटामिन डीको बारेमा थाहा नभए पनि घामले स्वास्थ्य राम्रो बनाउँछ भने थाहा थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने बरु कोठामा राखेर पाउडर दलिरहने चलन छ । यस्तो आधुनिक चलनले सुत्केरी आमा र शिशुको शरीरमा भिटामिन डी पुग्न दिँदैन र यसले गर्दा समस्या धेरै हुन्छन् ।

सानो उमेरका बच्चालाई भिटामिन डी कमी भयो भने उनीहरूको हड्डी कमजोर हुँदै जान्छ । हडड्ीहरू बाँगो भएर हिँड्न पनि गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले कम देखिए पनि काठमाडौं उपत्यकाको घाम कहिले पनि नछिर्ने गल्लीमा बस्ने बालबालिकालाई यो समस्या हुन सक्छ । बालबालिकालाई यो समस्या भएपछि किशोरीलाई पनि भिटामिन डीको कमीले समस्या भएर प्रजनन स्वास्थमा पनि नराम्रो असर पर्छ ।.
बलियो अस्थिपञ्जर तथा समग्र स्वास्थ्यका लागि भिटामिन डी अति नै महत्वपूर्ण छ । शरीरका महत्वपूर्ण मांसपेशी, मुटु, फोक्सो, मस्तिष्क आदि अंगलाई काम सरल र सक्षम रूपमा गराउन र शरीरमा हुनसक्ने बाह्य संक्रमणसँग लड्ने क्षमता वृद्धि गर्नसमेत भिटामिन डीको ठूलो महत्व हुन्छ । शरीरको हड्डी बलियो हुनका लागि क्याल्सियम र फोस्फोरस नामक तत्वहरू अति नै आवश्यक पर्छन् तर हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फोस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डीको मात्रा नभएमा वा कमी भएमा खानामा भएका ती क्याल्सियम र फोस्फोरस तत्व हाम्रो शरीरले ग्रहण गर्न सक्दैन । घाममा बसेर भिटामिन डी लिनैपर्छ ।
… … …
गोरो छाला भएको उत्तर अमेरिका र क्यानडा मानिसहरूलाई सूर्यको किरणमा धेरै बेर बस्दा छालाको क्यान्सर हुन सक्छ भनेर त्यहाँका मानिसहरूलाई घाममा धेरै नबस्नु भनिएको हुन्छ । तर उनीहरू समय समयमा समुद्रको किनारमा पौडी खेल्न जान्छन् र भिटामिन डी लिन कोसिस गर्छन् । वर्ष दिनमा धेरै समय घाम नलाग्ने देशहरूमा सायद भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिलाएर दिनुको औचित्य छ, तर नेपालमा त्यसको औचित्य छैन । उनीहरूलाई भिटामिन डीको कमी नहोस् भनेर खानामा पनि भिटामिन डी मिलाएको खानेकुरा बजारमा बेचिन्छन । तर हामीकहाँ भिटामिन डी सूर्यको किरणबाट नै पर्याप्त पाइने हुनाले त्यसको जरुरत पनि पर्दैन । भिटामिन डीको चक्कीले केवल औषधी कम्पनी र पसलको पैसा बढाउँछ, तपाईंको पैसा चाहिँ घटाउछ ।
हामीले दैनिक खाने कुरामा पाइने क्याल्सियम तथा फोस्फोरस हाम्रो आन्द्रामा शोषित हुने वा गराउने कार्यमा भिटामिन डीले ज्यादै ठूलो भूमिका खेल्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन डीको मात्रामध्ये करिब ८० % भिटामिन डी सूर्यको किरणबाट प्राप्त हुन्छ भने करिब २० % हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छ । घाममा बस्नुपर्छ भन्ने थाहा पाए पनि धेरैजसो महिला र किशोरीहरू घामले छाला डढ्छ भनेर बस्न चाहँदैनन् । तर यसले गर्दा उनीहरूको शरीरलाई कति नोक्सानी परिरहेको छ, प्रायः पहिले थाहा पाउँदैनन् । जतिखेर भिटामिन डीको मात्रा कमी भयो भन्ने थाहा पाउँछन, त्यो बेला धेरै समस्या बढिसकेको हुन्छ ।
वर्षभरि धेरै दिन घाम लाग्ने नेपालमा मानिसहरूलाई घामको कमिले हुने भिटामिन डी रोगबाट हुने समस्या लाग्नु भन्नुको अर्थ हो, हामी कस्तुरी मृग झँै छाँै– आफूभित्र त बासना छ तर कता कता बासना छ भनेर घुम्दै हिँड्छौँ । सूर्यलाई पूजा गर्न समय निकाल्ने महिलाहरूले घाममा बस्न समय किन निकाल्ने होला ? सायद घाम किन्न पैसा तिरेर स्वास्थ्य लाभ गर्नुपरेको भए वा ‘अस्पतालमा भर्ना भएर पैसा तिरेर घाम ताप्नु’ भनेर डाक्टरको औषधीको पर्चामा लेखिने हो भने अस्पतालमा धेरै ओछ्यानहरू धमाधम भरिन्थे होला ! घाम ताप्ने बिरामीहरूका रूपमा ! .
महिलाहरूले शरीर कालो हुन्छ भनेर चिन्ता नगरेर हरेक दिन घाममा बस्ने गरौँ न, ल !

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*