चर्चित हलिउड फिल्म ‘रेम्बो’ को बलिउड रिमेक बन्दै

काठमाडौं, ९ जेठ । हलिउडमा निर्मित र अत्यन्त सफल चलचित्र ‘रेम्बो’ को हिन्दी रिमेक बन्ने भएको छ । मूल सिनेमामा हलिउड नायक सिल्भेस्टर स्टेलोनले ‘रेम्बो’को लिजेन्डरी भूमिका निर्वाह गरेका थिए भने बलिउडमा निर्माण हुने लागेको ‘रेम्बो’ को इन्डियन भर्सनमा टाइगर श्राफले ‘रेम्बो’ को भूमिका निर्वाह गर्ने भएका छन् ।

यो खबर सुनेपछि नायक सिल्भेस्टरले आफ्नो फिल्म ‘रेम्बो’ को इन्डियन रिमेक निर्माण हुँदा त्यसको ‘थिम’ र अन्य पक्षहरूप्रति अन्याय नहुने अपेक्षा व्यक्त गरेका छन् । उनले बलिउड एक्टर टाइगर श्राफले यसमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन दिने प्रयास गर्ने अपेक्षा व्यक्त गर्दै यो एक अत्यन्त सानदार चरित्र रहेकोले यसलाई उनले सत्यानाश गर्ने छैनन् पनि भनेका छन् । उनले टाइगरलाई शुभकामना पनि दिएका छन् ।
आफ्नो सोसल मिडिया इन्स्टाग्राममा गरेको पोस्टमा सिल्भेस्टरले लेखेका छन्, ‘जतिबेला युवा कलाकारहरूले आफ्नो सपना पूरा गर्ने अवसर पाउँछन्, त्यतिबेला मलाई निकै रमाइलो लाग्छ । यस्तो अवसर म अति मन पराउँछु । म त्यतिखेर अझ रोमान्चित हुन्छु जतिबेला युवा कलाकारहरूलाई जुन–तारासम्म पुग्ने कठिन अवसर प्राप्त हुन्छ । मेरो दृष्टि टाइगरमाथि रहनेछ र मलाई पूरा विश्वास छ, उनले यस फिल्ममा मन–मुटु–ज्यान दिएर काम गर्नेछन् ।’

भारतीय एजेन्सीहरूले जनाएअनुसार, स्टेलोनलाई जवाफ दिँदै टाइगरले आफ्नो सोसल मिडियामा लेखे, ‘हामीजस्ता बच्चाहरूका लागि सधैँ टाइगरको एउटा आँखा मात्र हुनेछ । तपाईं जङ्गलमा राज गर्नुहुन्छ । तपाइंलाई धेरै धेरै धन्यवाद सर ।’

‘रेम्बो’ सिरिजको पहिलो फिल्म ‘फस्र्ट ब्लड’ (१९८२) थियो जसले १२.५ करोड डलर कमाइ गरेको थियो । त्यसका रिमेकहरूले पनि उल्लेखनीय प्रदर्शन गरेका थिए । सन् २००८ मा रिलिज भएको ‘रेम्बो’ को दोस्रो फिल्मले ११.३ करोड डलर कमाइ गरेको थियो ।

‘रेम्बो’ फिल्मको हिन्दी रिमेक बनाउने सम्बन्धी घोषणा हालै फ्रान्सको कान्समा आयोजित फिल्म फेस्टिभलमा भएको हो । यस हिन्दी रिमेकको निर्देशन सिद्धार्थ आनन्दले गर्ने भएका छन् । आनन्दले यसअघि फिल्म ‘बैंग बैंग’ निर्देशन गरिसकेका छन् ।

‘रेम्बो’ फिल्मको हिन्दी रिमेकमा लिड एक्टरका लागि पहिले ऋतिक रोशन र सिद्धार्थ मल्होत्राका नामहरूमाथि पनि सोचविचार भएको थियो । अन्ततः टाइगर श्राफलाई नै यसका लागि उपयुक्त ठहर गरियो ।

यो फिल्ममा काम गर्न पाएकाले टाइगर पनि निकै खुसी छन् । उनले आफू बाल्यावस्थादेखि नै मार्सल आर्ट्स र एक्सन फिल्महरूको उच्च प्रशंसक रहँदै आएको बताएका छन् । उनले भनेका छन्, ‘मेरा लागि यो बडो खुसीको अवसर हो तर घाग्डान अभिनेता सिल्भेस्टर स्टेलोनको स्थान कसैले लिन सक्दैन ।’

यस फिल्मको निर्माण प्रक्रिया आउँदो वर्ष फेब्रुअरीमा सुरु भई सोही वर्ष २०१८ को अन्त्यसम्ममा रिलिज गर्ने सम्पूर्ण प्रयास अगाडि बढाइने बताइएको छ ।

  जेठ ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*