बेलायतको सांगीतिक कार्यक्रममा विस्फोट हुँदा २२ को मृत्यु

म्यानचेस्टर, इङ्ग्ल्यान्ड, ९ जेठ । बेलायतमा गत सोमबार राती भइरहेको एक सांगीतिक कार्यक्रम स्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोट लगत्तै घटनास्थलमा १९ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।

विभिन्न समाचार एजेन्सीहरूले जनाएअनुसार, स्थानीय म्यानचेस्टर एरेना रंगशालामा आधुनिक पप गायनकी लोकप्रिय अमेरिकी हस्ती २३ वर्षीया एरियाना ग्रान्देको कार्यक्रम चलिरहेको बेला स्थानीय समयअनुसार राती १०ः३० बजे त्यहाँ बम विस्फोट भएको थियो ।

प्रहरीले यो घटनालाई निन्दनीय आतंकवादी हमलाको संज्ञा दिएको छ र सोहीअनुसारको कारवाही तीव्र बनाएको छ । घटनामा इस्लामिक आतंकवादी संगठन आइएसको हात रहेको र विस्फोटपछि आइएस समर्थकहरूले खुसी मनाएको पनि बेलायती प्रहरीले जनाएको छ ।

यो घटनापछि सामाविक सन्जालमा ट्विट गर्दै पप गायिका एरियाना ग्रान्देले आफू पूर्णतः स्तब्ध भएको उल्लेख गर्दै भनेकी छन्, ‘अन्तरहृदयबाटै म सरी भन्न चाहन्छु । केही पनि भन्नका लागि मसँग शब्द नै छैनन् । … ब्रोकन । फ्रम द बटम अफ माई हार्ट, आई एम सो सरी । आई डोन्ट ह्याभ वर्ड्स ।’

विस्फोटबाट गायिकालाई कुनै शारीरिक चोटपटक लागेको छैन ।

धेरैजसो युवा प्रशंसकहरू रहेको दर्शक जमात ग्रान्देले कार्यक्रमको अन्तिम गीत गाइसकेपछिको अवस्थामा बिस्तारै रंगशालाबाट बाहिरिने क्रममा रहेकै बेला अकस्मात् बम विस्फोटको आवाजले कार्यक्रम स्थल थर्कमान तुल्याएको थियो । भ्रम र संशयले भरिएका दर्शकहरू सुरक्षाको खोजीमा यताउता दौडिन थालेका थिए भने एकै छिनमा तीखो स्वरमा साइरन बजाउँदै सुरक्षा निकाय र दमकल गाडीहरू रंगशालाबाहिर आइपुगेका थिए ।

एकजना अमेरिकी अधिकारीले यो बम विस्फोट आत्मघाती हमला हुनसक्ने पूर्ण सम्भावना रहेको र एकजना पुरुष सम्भावित आक्रमणकारी हुनसक्ने गरी पहिचान भइसकेको बताएका छन् । तर ती व्यक्ति पनि विस्फोटमा परी मरिसकेको म्यानचेस्टर प्रहरीले जनाएको छ ।

अमेरिकी सुरक्षा निकायले यो घटनालाई निकटबाट निरीक्षण गरिरहेको र अमेरिकास्थित सांगीतिक कार्यक्रम स्थलहरूका सम्बन्धमा त्यस्तो कुनै खतरा वा जोखिमको संकेत÷जानकारी नरहेको जनाएको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेले यो घटनालाई ‘डरलाग्दो आतंकवादी आक्रमण’ को संज्ञा दिएकी छन् ।

बेलायतमा सन् २००५ पछि भएको यो नै सबैभन्दा खतरनाक आतंकवादी बम विस्फोट हो । सन् २००५ जुलाई ७ मा लन्डनका तीनवटा सब–वे (भूमिगत रेल स्टेसन) हरूमा एकैसाथ भएका आतंककारी बम विस्फोटमा ५२ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए । पचास सेकेन्डको अन्तरमा तीनजना आत्मघाती बम हमलावरहरूले लन्डन अन्डरग्राउन्ड स्टेसनबाट भएर गुज्रिने तीनवटा रेलमा चढेर विस्फोट गराएका थिए ।

स्थानीय समयअनुसार बिहान ८ः५० बजे भएका उक्त आक्रमणबाट लिभरपुल स्ट्रिट स्टेसनबाहिर सातजना, एजवेयर रोड स्टेसनबाहिर छजना र किङ्ग्स क्रसबाट रसेल स्क्वायर स्टेसन जाँदै गर्दा बीच बाटोमा गरिएको आत्मघाती बम विस्फोटमा २६ जनाको मृत्यु भएको थियो ।

        जेठ ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*