छापा मुख्य पृष्ठमा महिला पत्रकारका ‘बाइलाइन’ दश प्रतिशत मात्र

काठमाडौं, ७ भदौ ।

नेपाली छापा माध्यमका मुख्य पृष्ठमा महिला पत्रकारको बाइलाइनको अवस्था कस्तो छ भनी गरिएको एक अध्ययनमा जम्मा १० प्रतिशत तथ्याङ्क देखिएको छ।

मंगलबार फ्रिडम फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा फोरमका मिडिया अनुगमन संयोजक नानुमैयाँ खड्काले ९ राष्ट्रिय दैनिक पत्रिकाको ६ महिनाभित्र गरिएको अध्ययन प्रस्तुत गरेको थिइन्।

नेपालका मुख्य ९ राष्ट्रिय दैनिक पत्रिकाको मुख्य पृष्ठमा महिलाको कस्तो उपस्थिति छ भन्ने उदेश्यका साथ गरिएको अध्ययनमा ६ महिनामा महिलाको बाइलाइनको अवस्था जम्मा १० प्रतिशत देखिएको उनले बताइन्।

संयोजक खड्काले छ महिनामा २७० पत्रिकाका दुई हजार १६० समाचार अध्ययन गरिएको बताउँदै पत्रिकाको सम्पादकले आफ्नो मिडिया हाउसमा महिला पत्रकारको संख्या नै न्युन भएकाले यस्तो तथ्याङ्क आएको स्वीकार गरेको बताइन्।

बिभिन्न ९ राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र गोरखापत्र दैनिक तथा अंग्रेजीमा दि काठमाडौँ पोष्ट, दि राइजिङ नेपाल, रिपब्लिका र दि हिमालयन टाइम्स मा यो अध्ययन गरिएको थियो।

अध्ययनको क्षेत्रमा पत्रिकाको विभिन्न पृष्ठका समाचारमा महिलाको बाइलाइन, समाचार स्रोतको रुपमा महिलाको बाइट, संख्या आदि समावेश थिए।

अध्ययनका अनुसार समाचारमा ९०.४ प्रतिशत पुरुषलाई स्रोतका रुपमा उल्लेख गरिएको छ। महिलाहरु स्रोतको रुपमा निकै न्युन रुपमा प्रयोगमा आएका छन्।

मुख्य पृष्ठमा मुख्यतय राजनीतिक समाचारले नै बढी प्राथमिकता पाउने हुनाले र राजनीति बीटमा महिला पत्रकारको उपस्थिति न्युन भएकाले महिलाहरुको बाइलाइन संख्या कम भएको अध्ययनको निष्कर्ष थियो।

मुख्य पृष्ठ राजनीतिक विषयले बढी ओगटेको र त्यसपछि क्रमश विज्ञान, प्रविधि, सामाजिक, कानुन, अपराध हिंसालगायतका समाचारलाई महत्व दिइएको अध्ययनमा पाइएको छ।

कार्यक्रममा सहभागी रिपब्लिका दैनिकका सह- सम्पादक थिरलाल भुषालले नेपाली सञ्चारमाध्यममा महिला पत्रकारको संख्या नै कम भएकाले बाइलाइन कम आउने गरेको बताए। यसैगरि पत्रकार रमा लुइँटेलले धेरै महिला पत्रकारले सामाजिक, आर्थिक लगायतका विषयमा बढी समाचार लेख्ने र ती समाचार भित्री पेजमा स्थान दिइने भएकाले पहिलो पृष्ठमा महिलाका बाइलाइन समाचार कम हुने बताइन्।

सहभागी हिमालय टाइम्स दैनिकका सम्पादक गोविन्द लुइँटेलले मुख्य पृष्ठका समाचार प्राय राजनीतिक हुने र त्यस्ता समाचारको लागि कहिलेकाहीँ रातभर खट्नुपर्ने भएकाले नेपालको सामाजिक र पारिवारिक कारणले महिला पत्रकारहरु राजनीतिक बिटमा न्युन हुने र बाइलाइन पनि न्युन आउने बताए।

यसैगरि पत्रकार विद्या राजपुतले पत्रिकाको मुख्य पृष्ठमा समाचार मात्र नभई पछिल्लो समयमा तस्विरमा समेत आउने बताउँदै अध्ययनमा उनीहरुको पनि उपस्थितिलाई सामावेश गर्न सल्लाह दिइन्।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले देशको सामाजिक र पारिवारीक अवास्थाका कारण महिला पत्रकारहरु राजनीतिक बीटमा सक्रिय नभएको बताए। उनले अध्ययनमा अर्थ, मनोरञ्जन, विचारलगायतका समाचारलाई समावेश नगरिएको बताउँदै यस विषयमा आगामी अध्ययनमा समेटिने बताए। (राससको सहयोगमा)

      बुधबार, भदौ ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*