एन्फा च्यासल टेक्निकल सेन्टरको स्तरोन्नति गरिने

एन्फा टेक्निकल सेन्टर, च्यासल स्तरोन्नतिको शिलन्यास गर्दै खेलकुद मन्त्री राजेन्द्रकुमार केसी ।

खेल संवाददाता । काठमाडौं, ८ भदौ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको स्तरोन्नति गर्ने भएको छ । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बुधबार सोको शिलन्यास गरेका हुन् ।

अन्य सुविधासहित हाल पूर्व र दक्षिण दिशामा गरी १ हजार २ सय दर्शक क्षमताको प्यारपिटलाई १० हजार दर्शक क्षमताको बनाइन लागेको हो । पूर्व र दक्षिणमा पनि थप दर्शक बस्न मिल्ने गरी थप पूर्वाधार निर्माण गरिनेछ भने पश्चिमपट्टि नयाँ पूर्वाधार थपिने छ । अहिले खाली रहेको उत्तर दिशा भने खाली नै रहनेछ ।

स्तरोन्नतिका लागि ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए । २०१९ को फेब्रुअरी अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी डाँफे कन्स्ट्रक्सन कम्पनी, प्रेरा निर्माण सेवा र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. ले निर्माणको जिम्मेवारी पाएका छन् ।

शिलन्यासपछि मन्त्री केसीले सेन्टरको स्तरवृद्धि सबैका लागि खुसीको कुरा भएको बताउँदै अझ त्यसले विशेष गरी फुटबलकर्मी र खेलाडी बढी खुसी दिने धारणा व्यक्त गरे । उनले १३औं साग आयोजनाको प्रतिष्ठालाई जोगाउन सेन्टरको निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले ‘मन्त्री आउँछन्, शिलन्यास गर्छन् र जान्छन् । काम पूरा हुन वर्षौं लाग्छ’ भन्ने पराम्परालाई तोड्न निर्माण कार्यले समयमै पूर्णता पाउनुपर्ने बताए ।

सदस्य–सचिव विष्टले १३औं सागलाई लक्षित गरी सेन्टरको स्तरोन्नति गर्न लागिएको बताउँदै बिहीबारदेखि नै निर्माण कार्यले गति लिने बताए ।

उनले टर्फ नराखी हकी खेल्न सहभागी राष्ट्र सहमत भएको खण्डमा सेन्टरमा हकी खेलाउन प्रस्ताव गरिएको जानकारी गराए ।

‘हकीमा सहभागी हुने राष्ट्रहरूले बिना टर्फ मै हकी खेल्ने सहमति जनाए भने हामीले यो पूर्वाधारलाई हकी खेलाउन प्रस्ताव गरेका छौं । सदस्य–सचिव विष्टले भने, ‘हकीको छुट्टै पूर्वाधार निर्माण गर्न ठूलो खर्च लाग्छ । यदि सरकार त्यसमा सहमत भए झन् राम्रो हुन्छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्रमान श्रेष्ठले फुटबलका लागि ऐतिहासिक दिन भएको बताउँदै सेन्टरको स्तरवृद्धिले फुटबलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष पहल गर्न आग्रह गरे । श्रेष्ठले सेन्टरमा एस्ट्रो टर्फ र फ्लडलाइट राख्नका लागि फिफाबाट स्वीकृति प्राप्त भइसकेको जानकारी गराउँदै त्यसका लागि अगष्ट ३१ मा नेपाल आउने फिफाका प्रतिनिधिसँग विस्तृत छलफल हुने बताए ।

    बिहीबार, भदौ ८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*