छोरो नजन्माउने मेरी आमाको पाठेघर

कविता/यशोदा अधिकारी

बुबालाई छोरी मन पर्दैन
तर आमा छोरी नै जन्माउनुहुन्छ
हजुरबुबा ‘स्वर्ग’ हिँडिरहनुभएको छ
मेरो बुबा हजुरबुबालाई ‘बैतर्नी’ तराउनु हुन्न
हजुरआमाको त के कुरा !
छोरा जन्माएर ‘नरक’ नहेर्नुपर्ने हो
तर अल्झिरहनुभएको छ
जिन्दगीको अन्तिम
नदी किनारामा ।

ईश्वरको अदालतमा
हजुरबा र हजुरआमाको
दुःखको अन्तिम फैसला
न्यायाधीशको अन्तरिम आदेश
मेरो बुबाको चाउरी परेको गाला
मेरी आमाको छोरो नजन्माउने पाठेघर
शव वाहनमा सुतिरहेको मान्छे
उस्तै उस्तै लाग्छ मलाई ।

मेरी आमाको सिउँदोमा
‘सौभाग्य’को सिन्दुर हाल्ने बुबाको हात
बुबाको पाउपोस मिलाउँदा मिलाउँदै
फुलेको मेरी आमाको केश
आमाको आदिम सपना
जीवनको जङ्गलमा
पोखिएको आँसुसँगै बगेको
एउटा जिउँदो इतिहास
कहिल्यै लेखिएन कोरा कागजहरूमा
बनाएर पसिनाको पोखरी
हजुरआमा दिनहुँ नुहाउँथिन्
‘पवित्र’ भइदिन्थिन्
मेरा हजुरबाका खातिर ।

बेरेर यातनाको फरिया
भरिरहन्थिन् हजुरआमा दुःखको भकारी
हजुरबुबा भत्काउँथे भकारी
लगाउँथे आगो
जिँउदै जलाउँँथे
भकारीमा थुनिएका आत्माहरू ।

छोराको गौरव गाथा गाउँदा–गाउँदा
नथाकेका मेरो बुबालाई छोेरी मन पर्दैन
तर आमा छोरी नै जन्माइरहनुहुन्छ
छोरीसँगै पटक–पटक जन्मिन्छन्
हरेक आमाका शिथिल अनुहारहरू ।।

yashoda adhikari
– yashoda.adhikari@gmail.com

बुधबार, असोज ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*