जुम्लामा पहिलो पटक महिला सिडिओ

जुम्ला ।

जुम्लाको प्रमुख जिल्ला अधिकारी पदमा पहिलो पटक महिला नियुक्त भएकी छन् ।

२०२४ सालदेखि हालसम्म ४० जना सिडिओ परिवर्तन भइसक्दा दुर्गा बञ्जाडेले पहिलो पटक सिडिओको जिम्मेवारी पाएकी हुन् ।

शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्नासाथ उनले कार्यभार सम्हालिन् । यस क्रममा जिल्लाका सबै निकायसँगको परिचयात्मक कार्यक्रम प्रजिअ बञ्जाडेले गर्न थालेकी छन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवाग्राही र सेवाप्रदायक कार्यालयबीचको सम्बन्धलाई प्रगाढ बनाउने वातावरण तयार गर्ने बताइन् ।

‘सकारात्मक परिवर्तनका लागि कतिपय ठाउँमा निकै कठोर र कतिपय ठाँउमा निकै नरम बन्नुपर्छ, यसमा सबैको साथको अपेक्षा गर्छु,’ उनले भनिन्, ‘ऐन नियमले निर्दिष्ट गरेसम्मको अधिकार प्रयोग गरी पारदर्शिता र गुणस्तर कायम गर्ने पहल थाल्नेछु ।’

पहिलो दिनमै उनले जिल्लामा पत्रकार सम्मेलन गरी आफ्ना आगामी योजनाका बारेमा जानकारी दिएकी हुन् । पहिलो महिलाको रुपमा सिडिओको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै उनले नागरिकका अपेक्षा पूरा गर्ने पनि बताइन् ।

बञ्जाडे सम्भवतः कर्णाली प्रदेशकै पहिलो महिला सिडिओ पनि हुन् ।

शनिबार, फागुन १८, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*