ठिङ्ग उभिरह्यो पीपलको बोट

कविता/राजबल्लभ कोइराला

पीपलको बोट
ठिङ्ग उभिरह्यो
कालान्तरमा जस्तै ..
आज पनि…

हिजो अनि अस्ति
मान्छेहरू आए,
सुस्ताए, सुस्केराए, मुस्कुराए
कसैले पसिना पुछे
कसैले आँशु पुछे

पीपलको बोटले सब हेरिरह्यो
कहिलेकाहीँ पंखा दियो
पसिना सुकाइदियो
पातहरूका बीचबाट
घाम पनि दियो

गफ सुन्यो
निन्द्रा सुन्यो
रोदन सुन्यो
हाँसो सुन्यो
अनि
मान्छेका मौनता पनि

एकनास उभिरह्यो
दृश्य देख्यो, वस्तु देख्यो, भाव देख्यो,
एकाग्रता देख्यो, कल्पना देख्यो
अनि तिनका सपना पनि

धेरै आए, धेरै गए
अथक, तटस्थ, उहिल्यैबाट
हेरिरह्यो, उभिरह्यो

आज मुन्तिर कोही नहुँदा
सर्रर हल्लियो पीपल
खै, कुन्नि मैले बुझिन …।।।

Raj Ballav

– राजबल्लभ कोइराला

शुक्रबार, असोज २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*