तिमी

मोना शेर्पा

 

शब्द ! तिमी शब्दहरू मात्र त कहाँ रहन सक्छौ र ।
मौन त तिमी छैनौ नै ।
निश्चल पनि हैनौ तिमी ।
धारिलो तरवारलाई मात दिने चोटहरू,
अनि त्यहिसँग लपेटिएका पीडाहरू ।

शायद उन्माद जवानीको सागरले निथ्रुक्क भिजेकोले पनि होला ।
कातर पनि त छैनौ नै ।
अर्थहिन पनि हैनौ तिमी ।
बसन्तको शितल चञ्चलतालाई पछारिदिने तिम्रा अधरहरू ।
अनि त्यहीसँग मस्किरहेका नयाँ उमंगहरू ।

कैयन हिउँद अनि वर्षाका भेलहरू झेल्दै बटुलेका अनुभवले पनि होला ।
रित्तो त तिमी छैनौ नै ।
घातक पनि हैनौ तिमी ।
थामिसकेका आशाहरूलाई जगाईदिने तिम्रा चालहरू ।
अनि त्यसैमा अनायासै रमिरहेका म अनि मेरा ह्दयहरू ।

हो, हो त्यसैले पनि केवल शब्दहरू मात्र त
कहाँ रहन सक्छौ र तिमी पनि ।
विश्वास गर,
विशाल तलाउको माझमा शान्तसँग फक्रिएका निराजहरू नै हौ तिमी ।

 

असार ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*