तीनपटक प्रधानमन्त्री भएका कीर्तिनिधि बिष्टको निधन

काठमाडौं, २५ कात्तिक ।

नेपालका वरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ९० वर्षीय बिष्टको शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित निजी निवासमा निधन भएको हो।

बिष्ट पञ्चायती व्यवस्थामा तीनपटक प्रधानमन्त्री भएका थिए। त्यस्तै ज्ञानेन्द्र शाहको शासनकालमा डा. तुलसी गिरीसँगै मन्त्रीमण्डलमा उपाध्यक्ष भएका थिए।

बिष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए ।

kirtinidhi bista2

२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।

परिवार स्रोतका अनुसार आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टि गर्न लागिएको परिवार स्रोतले जनाएको छ ।

शनिबार, कात्तिक २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*