दुई वर्षभित्र चीनमा लियोनेल मेसी थिम पार्क

स्पेनको बार्सिलोना क्लबबाट खेल्ने प्रख्यात अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको सम्मानमा चीनले एउटा थिम पार्क निर्माण गर्ने भएको छ । चीनको नानजिङमा निर्माण हुने यो पार्क सन् २०१९ मा सर्वसाधारणका लागि खुल्ला गरिने कार्यक्रम तय भएको छ ।

हलिउड रिपोर्टर मा कार्यरत स्कट रक्सबोरो र प्याट्रिक ब्रजेस्कीले जनाएअनुसार, ‘मेसी एक्सपिरियन्स पार्क’ पनि भनिने यो पार्कको निर्माण मेसीको व्यवस्थापन टोलीले चिनियाँ प्रसारण संस्था फिनिक्स समूह र स्पेनिस मिडिया समूह ग्रुप मिडियाप्रोसितको साझेदारीमा गर्ने भएको हो ।

एउटा पत्रिकाले उक्त मेसी पार्क निर्माण सम्पन्न भइसक्दा त्यसको प्रवेशद्वार यस्तो हुनसक्छ भनी कल्पना गरेको चित्र समाचारको प्रारम्भमा राखिएको छ ।

Messi Park

मेसी पार्कमा अत्याधुनिक प्रविधिसहित पछिल्लो समय विकसित भएका सामग्री र मल्टीमिडिया आकर्षणका विषयवस्तु राखिनेछन् ।

मिडियाप्रो संस्थाले खेलकुद थिम पार्क र प्रदर्शनीहरूको आयोजना÷व्यवस्थापन गर्ने गर्दछ । यही संस्थाले ‘फुटबोल क्लब बार्सिलोना म्युजियम’ नामक संग्रहालय पनि सन्चालन गरिरहेको छ ।

६ लाख २३ हजार वर्गफिट क्षेत्र ओगटेर निर्माण हुने मेसी पार्कमा इन्डार र आउटडोर गरी बीसभन्दा धेरै आकर्षणहरू राखिने योजना निर्माताहरूले बताएका छन् ।

थिम पार्क उद्योग (theme park industry) चीनमा तीव्र रूपमा फस्टाउँदै गरेको बजार हो । आउँदा तीन वर्षभित्रमा बर्सेनी १२ अर्ब अमेरिकी डलर आयसहित यस क्षेत्रमा अमेरिका र जापानलाई पछाडि छोड्दै चीन विश्वमै पहिलो नम्बरमा आइपुग्ने आँकलन गरिँदै छ ।

जेठ २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*