निर्वाचन आयोगको निर्णय ः भरतपुरको एक वडा (नं.१९) मा पुनः मतदान हुने

काठमाडौं, २० जेठ । मतगणना जारी रहेकै बेला मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित हुन पुगेको भरतपुर महानगरपालिकाको मतगणना हाललाई स्थगित नै राखी वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले शनिबार गरेको छ । मतगणना स्थल अनधिकृत रूपमा कब्जा गरी मतपत्र च्यातेको पुष्टि भएको भन्दै आयोगले १९ वडाको मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै उक्त मतदान नै रद्द भएको घोषणा गरेको छ ।

मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय पनि आयोग बैठकले गरेको छ ।

मतगणनाको क्रममा जेठ १४ गते राती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा ९० मतपत्र च्यातिएका थिए  ।

स्मरणीय छ, मतगणना भइरहँदा भरतपुर महानगरपालिकाको मेयर पदका सत्तारुढ माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल र नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीबीच अत्यन्त कडा एवम् निकटतम प्रतिस्पर्धा भइरहेको थियो । कहिले को अगाडि कहिले को भनेजस्तो अवस्थामा अघि बढिरहेको मतगणनामा पछिल्लोपटक एमाले उम्मेदवार देवी ५०० देखि १४०० मतले निरन्तर अगाडि देखिइरहेका थिए ।

आयोगले जारी गरेको प्रेस विज्ञप्ति–

Election-commicition-Release-on-bharatpur

यसैबीच, नेकपा एमालेले निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ ।

यसअघि स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन मतदान गर्ने निर्णय भए पार्टीले त्यसको प्रतिकार गर्ने बताएका थिए । एमालेले १४ गते राती भएको घटनालगत्तै तत्काल पुन मतगणना गर्न आग्रह गर्दै आएको थियो भने सोहि माग पूरा गर्न दवाव दिन पटक पटक संसद अवरुद्ध पार्दै आएको थियो ।

     जेठ २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*