दोस्रो चरणको निर्वाचनमा ४१ प्रतिशत महिला विजयी

काठमाडौं, ११ साउन । स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनबाट ४१ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष निर्वाचित भएका छन्।  निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम तथ्याङ्कअनुसार यस निर्वाचनमा कुल १५ हजार नौ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन्।  त्यसमा आठ हजार ८३२ जना (५८.८४ प्रतिशत) पुरुष र छ हजार १७७ जना (४१.१६ प्रतिशत) महिला निर्वाचित भएको निर्वाचन आयोगको सूचना प्रविधि व्यवस्थापन महाशाखाले जनाएको छ।

गएको असार १६ गते १५ हजार ३८ पदका लागि भएको निर्वाचनमा ६२ हजार ४४३ उम्मेदवार चुनावी मैदानमा थिए।  जम्मा दुई जना तेस्रो लिङ्गी उम्मेदवार भएकोमा कसैले विजय प्राप्त गर्न सकेनन्।

कुल ३३४ पदका लागि भएको उपप्रमुख वा उपाध्यक्षको निर्वाचनमा पुरुष १९ जना र महिला ३१५ जना (९४ दशमलव ३१ प्रतिशत) निर्वाचित भएका छन्।  तर, प्रमुख तथा अध्यक्षमा पदमा पुरुषको एकछत्र वर्चश्व देखिएको छ।  सो पदमा एक प्रतिशत मात्रै महिला विजयी भएका छन्।  नगरपालिकाको प्रमुखमा ११९ पदमध्ये एक जना मात्रै महिला निर्वाचित भएकी छन् भने २१५ गाउँपालिका अध्यक्षमा तीन जना महिला निर्वाचित भए।

उपप्रमुख एवम् उपाध्यक्षमा भने महिलाको उपस्थिति उत्साहजनक देखिएको छ।  दुई हजार ८७३ वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा महिला २५ जना मात्रै निर्वाचित भए भने दुई हजार ८४८ जना पुरुष निर्वाचित भएका छन्।  महिला सदस्यमा दुई हजार ८७३ जना निर्वाचित भए भने दलित महिला सदस्यमा दुई हजार ८४९ जना निर्वाचित हुनुभयो।  तर, २४ पदमा दलित महिलाको उपस्थिति देखिएन।  खुल्ला दुई सदस्य पदका लागि भएको निर्वाचनमा १११ जना महिला सदस्य निर्वाचित भए भने पाँच हजार ६३५ जना पुरुष निर्वाचित भएका छन्। (गोरखापत्र)

     बुधबार, साउन ११, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*