छाउपडी प्रथाविरुद्धका अभियन्ता नै छाउगोठमा सुत्न बाध्य

अभियानका बेला बाबियाचौरमा प्रहरीको सहयोगमा छाउगोठ भत्काउँदै किशोरी । तस्विर : अन्नपूर्ण पोस्ट

सुर्खेत, ११ साउन । पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमकला विक छाउपडी (रजस्वला) बार्ने चलनविरुद्धको अभियानमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमकला नै छाउगोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।

‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे’, उनी भन्छिन्, ‘त्यसबेला गाउँका सबै चुप भए, हामीले घर-घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा गोठमा सुत्ने गरेको उनको भनाइ छ ।

उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरू नै अहिले छाउगोठमा जान बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ता नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो । (अन्नपूर्ण पोस्ट)

      बुधबार, साउन ११, २०७४ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*