धनुषा ३ : विमलेन्द्र निधि र राजेन्द्र महतोको चुनावी भिडन्त रोचक बन्ने

जनकपुर, १७ कात्तिक ।

मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो आमने–सामने हुने भएका छन् ।

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट बिहीबार निधि र महतोले मनोनयनपत्र दर्ता गराएका हुन् ।

काँग्रेस नेता निधि पहिलो र दोस्रो संविधानसभामा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने महतो ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा सर्लाहीबाट तत्कालीन तमसपा अध्यक्ष महेन्द्रराय यादवसँग पराजित भएका थिए।

उक्त क्षेत्रबाट अहिले राजपामै रहेका यादवले पुनः उम्मेदवारी दिएपछि महतो धनुषा आएका हुन् ।

पछिल्लो समय राष्ट्रिय राजनीतिमा बढी व्यस्त रहने निधिले बिहीबार दलबल सहित जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए। जिल्लाका अन्य क्षेत्रबाट चयन भएका उम्मेदवारहरुलाई साथमै लिएर उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

मनोनयन पत्र दर्ता गराएर निधि बाहिरिए लगत्तै उनको प्रतिस्पर्धीको रुपमा राजपा नेता राजेन्द्र महतो बाजागाजाका साथ निर्वाचन कार्यालय पुगेका थिए। – नागरिक दैनिक

शुक्रबार, कात्तिक १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*