राष्ट्रपति ट्रम्प– ‘डिभी चिट्ठा प्रणाली नै खारेज गर्नुपर्छ’

वासिङटन डिसी, १७ कात्तिक ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन् ।

मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरीे हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठामार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए ।

अमेरिकाले दिइआएको यस्तो प्रवेशाज्ञा कार्यक्रममा पूर्ण रूपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहिलो सुरुआत यो डिभी बन्द गरेर गर्नुपर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा गरेको उनले बताएका हुन् ।

उनले बुधबार ट्वीट गर्दै यस कुराको जानकारी दिएका हुन् । उनले यस नीतिका पक्षमा काम गर्न पनि अमेरिकी अधिकारीहरूलाई आह्वान गरेको बताएको पनि सो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेका छन् ।

मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजनाको ज्यान जाने गरी गराइएको आतङ्ककारी हमलामा संलग्न नागरिक डिभीमार्फत अमेरिका पुगेको प्रमाणित भएको छ । अमेरिकी अधिकारीहरुले यो जानकारी बुधबारै सार्वजनिक गरेका हुन् ।

उनले यस्तो प्रणालीको सट्टामा बरु विदेशी नागरिक (आवेदक) को विशेषज्ञता, सीप र कुनै क्षेत्रमा उसको दक्षताको आधारमा अमेरिकी भिसा प्रवेशाज्ञा दिने प्रणाली लागु हुनुपर्नेमा आफ्नो प्राथमिकता रहेको पनि बताएका छन् ।

यस डिभी कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार विदेशी नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिने गरिएको छ ।

यसैबीच हालै प्राप्त अर्को एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेको एउटा कानुनलाई कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गरेका थिए ।

उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले हालै आदेश दिएको हो । राष्ट्रपति ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनु केहीअघि त्यसमाथि उक्त कानुन कार्यान्वयनमा रोक लगाइएको छ ।

ती देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न नपाउने गरी राष्ट्रपति ट्रम्पले गरेको कानुनको घोषणालाई अदालतले अवैध भनी रोकिदिएको हो ।

अमेरिकाले यसअघि पनि अरु विभिन्न मुसलमान बाहुल्य रहेका ६ वटा देशमाथि यस्तै खालको प्रतिबन्ध लगाएको थियो । त्यसलाई पनि उतिबेलै अमेरिकाको सर्वोच्च अदालतले प्रश्न गरेको थियो । – एजेन्सी

शुक्रबार, कात्तिक १७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*