मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, केही सचिवको सरुवा

संवाददाता । काठमाडौं, ६ कात्तिक ।

मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । उनीहरू तीनै जना २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा थिए ।

क्षेत्री भन्दा अगाडिका मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि मुख्य सचिव पद खाली भएपछि क्षेत्रीलाई २९ असारमा मुख्य सचिव बनाइएको थियो । ५८ वर्षे उमेर हदका कारण भोलिबाट क्षेत्री विदा हुँदैछन् ।

सचिवहरूको सरुवा
यसैबीच राष्ट्रिय समाचार समितिले जनाएअनुसार, मन्त्रिपरिषद्को बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहन कृष्ण सापकोटा गृह, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

त्यसैगरी विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।

‘गिरानचौर एकीकृत नमूना’ बस्तीलाई रजिस्टर दस्तुर छुट

बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।

नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको जनाएको छ ।

त्यस्तै “चिकित्सा शिक्षा अध्यादेशका बारेमा सहमति भएको छ, छलफल गरेर निर्णयमा पुग्न बाँकी छ, अर्कोपटकमा यसबारेमा निर्णय हुन्छ”, प्रवक्ता बस्नेतले भने।

सोमबार, कात्तिक ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*