निर्वाचनका सन्दर्भमा आमसञ्चार अनुगमनको जिम्मा प्रेस काउन्सिललाई

काठमाडौं, २३ कातिक ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चारजगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघका कावा अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा गर्न आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको बताएका हुन् ।

महासंघ टोलीको भनाइप्रति आफ्नो धारणा राख्दै प्रमुख डा यादवले ‘निर्वाचन हाम्रो हो, यसमा महासंघको के योगदान हुन सक्छ भनेर जुन जिज्ञासा राख्नुभयो, यसले निर्वाचनप्रतिको कर्तव्य सबैको हो भन्ने प्रमाणित भएको छ’ भने ।

उनले आमसञ्चार अनुगमनको जिम्मा यसपटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी पनि दिए ।

महासंघ टोलीले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै महासंघले निर्वाचनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास दिलाएको छ ।

आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गदैँँ निर्वाचनमा महासंघजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

टोलीमा महासचिव रमेश विष्ट, सचिवद्वय रेम विश्वकर्मा र रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्रलगायत सहभागी थिए । रासस

बिहीबार, कात्तिक २३, २०७४ मा प्रकशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*