निर्वाचन पर्यवेक्षण : सय सदस्यीय युरोपेली टोलीको खर्च ४२ करोड, कसले गर्छ अनुगमन ?

काठमाडौं, २२ कात्तिक ।

युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ ।

इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा गरिन् ।

सरकारको निमन्त्रणामा इयुबाट एक सयजनाको पर्यवेक्षण टोली आउँदै छ, जसका लागि इयुले ३५ लाख युरो करिब ४२ करोड रुपैयाँ
बजेट उपलब्ध गराएको छ ।

‘हामी अनुगमनमा खटिएका छौँ, सात प्रदेशका ६३ जिल्लामा हामी पुग्नेछौँ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख पर्यवेक्षक जोभ्कोले भनिन्, ‘हाम्रो अनुगमनका लागि इयुले ३५ लाख युरो छुट्याएको छ ।’

जोभ्कोले तीन दिनयता प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव, प्रमुख दलका शीर्ष नेता तथा परराष्ट्रसचिव शंकरदास बैरागीलगायतसँग भेटेर निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् ।

निर्वाचन पर्यवेक्षणको नाम ‘मिसन नेपाल’
युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन नेपाल नाम दिइएको छ । इयुका अनुसार मिसनमा एक सयभन्दा बढी पर्यवेक्षक रहनेछन् । निर्वाचन विश्लेषकहरूको मुख्य टोली ८ कात्तिकदेखि नै काठमाडौंमा छ । मुख्य टोलीले निर्वाचन प्रक्रियासँग सम्बन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रक्रियासम्बन्धी कानुनी मुद्दाहरूको विश्लेषण गर्नेछ ।

पर्यवेक्षकलाई कसले गर्छ अनुगमन ?
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनका लागि आउने विदेशी पर्यवेक्षकका लागि आयोगले आचारसंहिता जारी गरेको छ । गृह, परराष्ट्र, अर्थ मन्त्रालय तथा निर्वाचन आयोगका कर्मचारी सहभागी भएको पर्यवेक्षण समिति र एकाइले विदेशी अनुगमनकर्ताहरूको अनुगमन तथा व्यवस्थापन गर्ने ढकालले बताए ।

टोलीको कार्यादेशमा के छ ?
इयुका अनुसार मिसनलाई निर्वाचन प्रक्रियाका सबै पक्षको पर्यवेक्षणका साथै निर्वाचन कुन हदसम्म अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धता एवं राष्ट्रिय कानुनअनुरूप सञ्चालन भएको छ भनी मूल्यांकन गर्ने कार्यादेश छ । इओएम नेपालस्थित इयु नियोग, इयु सदस्य राष्ट्र तथा इयुका सबै संस्थाबाट स्वतन्त्र छ । – नयाँ पत्रिकाबाट

बुधबार, कात्तिक २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*