पितालाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको कसरत

देवयानी र उर्वशी राणा (तस्बिर–नेपाललाइभ)

मेलम्ची, ७ मंसिर ।

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पितालाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् ।

राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्वसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् ।

पैतीस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

pashupati s rana

ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यसपटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् ।

उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पुर्याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् ।

जिल्लाका विभिन्न भागमा भएका आमसभामा सहभागी भएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताइन् ।

लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आएका बाबुले भाषणभन्दा बढी काम गर्दै आएको र अबको दिनमा पनि जिल्लाका जनताको हकहित र विकासका लागि निःस्वार्थ रुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्वसीले आग्रह गरेकी छन् ।

अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो काँग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले काँग्रेसको प्रदेशसभाको चुनाव चिह्न रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गरेकी छन् ।

काँग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्तेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताए । रासस

बिहीबार, मंसिर ७, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*