भाइबर लोटरीका नाममा ठगी गर्ने गिरोह सक्रिय !

काभ्रे, ६ मंसिर ।

तपाईंको मोबाइलमा भाइबर एप्स छ ? छ भने होस गर्नुस्, तपाईंलाई भाइबर लोटरीका नाममा ठगी गर्ने गिरोहले फसाउन सक्छन् ।

पछिल्लो समय सर्वसाधारणहरुको मोबाइलमा दुबई र भारतबाट नेपालीहरुको मोबाइलमा भाइबर लोटरीको नक्कली प्रमाणपत्र पठाएर ठगी धन्दा शुरु भएको छ । बनेपामा रहेको नेपाल एसबिआई बैंकमा दैनिक एकरदुई जना व्यक्तिहरू लोटरी परेका, दुबईबाट सुन तथा चाँदीका गहना पठाएर भारतमा अड्किएको भन्दै खाता खोल्न पुग्ने गरेका छन् ।

‘हिजो मात्रै पनि एक जना दिदी दुबईबाट सामान भारतमा अड्किएको भन्दै आउनुभएको थियो,’नेपाल एसविआई बैकका सहायक प्रबन्धकले भने, ‘उहाँले साथीले सामान पठाइदिएको भन्नुभयो तर थर समेत भन्न सक्नुभएन ।’

उनलाई पनि नेपालमा रहेको एसविआई बैंकमा खाता खोलेर केही रकम राजश्व वापत जम्मा गरिदिन भनिएको रहेछ । नेपालमा भएको बैंकबाट भारतमा रहेको एसविआई बैंकमा उनीहरुले दिएको खातामा रकम जम्मा गरिदिएपछि तिनीहरु सम्पर्कमै नहुने रहेछन् ।

सोमबार दिउँसो बनेपाका एक युवा ब्यवसायीलाई भाइबरमा कल आयो । उनलाई दुबईबाट राजेश कुमार भन्नेले ९२३४९१२९५३२५ नम्बरबाट फोन गरेका थिए ।

‘शुरुमै उनले तपाईलाई बधाई छ, भाइबर लोटरीको २५ लाख रुपैयाँ तपाईले प्राप्त गर्नुभएको छ भने,’ युवा ब्यवसायीले भने, ‘अब तपाईंलाई भारतबाट फोन आउँछ । उठाएर पैसा समेत रिसिभ गर्नु होला ।’

उनी केही क्षण अक्क न बक्क भए । भाइबर लोटरीमा आइसी २५ लाख नेपाली ४० लाख रुपैयाँ थियो । केही क्षणमै उनलाई भारतका अभिषेक कुमार सोनु भन्नेले ००९१८२३९७५७५९६ नम्वरबाट फोन गरेर नेपालमा भएको बैंकको खाता नम्वर टिपाइ दिन अनुरोध गरे ।

ती युवाले प्रभु बैंकमा भएको शून्य मौज्दातको खाता नम्वर दिए । केही बेरमै अभिषेक कुमारले फोन गरेर नेपाल एसविआई बैकमा भएको आफ्नो वा नजिकको ब्यक्तिको खाता नम्वर पठाइदिन अनुरोध गरे ।

राती ८ बजे कल गरेका अभिषेकलाई मंगलबार विहान मात्रै खाता खोलेर नम्वर पठाइदिने बताएका युवालाई पुनः बिहान ८ बजे कल गर्न भनिएको थियो । अभिषेकलाई नेपाली समय बिहानको ८ बजे कल गर्दा बैंकमा कसैलाई पनि उक्त कुरा नभन्न र कलर फोटो समेत पठाउन अनुरोध गरेका थिए ।

‘तिमीले लोटरी परेको कुरा बैंकका ब्यक्तिहरू र अन्यलाई भन्यौ भने केही रकम मात्रै दिएर बाँकी पैसा सबै खाइदिन्छन,’ अभिषेकले विहान भाइबर कलमा भनेका थिए, ‘त्यही बेला उनले भाइबरको लोटरी प्रमाणपत्र भन्दै पठाए ।’

बिहान १० बजे नेपाल एसविआई बैंक बनेपा शाखामा पुगेर युवाले अभिषेकलाई फोन गरे । उनले २५ लाखको ४० हजार जम्मा गरेर खाता नम्वर दिन र त्यो रकम भारतमा रहेको एसविआई बैंकमा पठाउन अनुरोध गरे । त्यतिबेला मात्रै थाहा भयो भाइबर लोटरीको नक्कली प्रमाणपत्र तयार गरेर सर्वसाधारण दुबई र भारतबाट ठगिन थालेका छन् भनेर । – नेपाल समाचारपत्रबाट

बुधबार, मंसिर ६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*