प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ती

काठमाडौं, ३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र साकार दाहाल (प्रकाश) को आजै अन्तिम दाह संस्कार गरिएको छ । प्रकाशको आइतबार बिहान निधन भएको थियो ।

लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई बिहान सबेरै नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका थिए ।

प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । प्रचण्डले हिन्दु परम्पराअनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका हुन् ।

प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन् ।

त्यसअघि नर्भिक अस्पतालको आपातकाली कक्षमा राखिउको प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो।

prakash_dahal_peris_danda

पार्टी कार्यालयमा प्रकाशलाई अन्तिम श्रद्धान्जलि दिन माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस, एमाले, नयाँ शक्तिलगायत विभिन्न पार्टीका शीर्ष नेता पुगेका थिए ।

२०३८ असार १७ गते जन्मिएका प्रकाश १६ वर्षकै उमेरमा २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका थिए । २०५७ सालदेखि उनी पार्टीको पूर्णकालिन सदस्य बनेका थिए ।

प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अहिले पशुपति आर्यघाटमा ठूलो भिड लागेको छ।

आइतबार, मंसिर ३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*