प्रदेश २ स्थानीय तहमा नेताहरूले यसरी गरे मतदान

संवाददाता । काठमाडौं, २ असोज ।

स्थानीय तहमा तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा आज शान्तिपूर्ण रुपमा मतदानन भइरहेको छ । यस प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा मतदान प्रक्रिया अगाडि बढिरहेको छ ।

मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालिरहेका छन् ।

मुख्य निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसहित बिभिन्न राजनीतिक दलका नेताहरुले पनि आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मुख्य निर्वाचन आयुक्त यादवले सप्तरीको राजविराज नगरपालिका २ को आधारभूत विद्यालयबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले २ नम्बर प्रदेशका लागि ऐतिहासिक अवसर भन्दै उत्साहकासाथ मतदानमा सहभागी हुन अपिल गरे । आवधिक निर्वाचनले लोकतन्त्र बलियो हुने उनले बताए ।

यसैगरी कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उच्चमावि केन्द्रबाट मतदान गरेका छन् ।

एमाले नेता माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका–३ को रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले धनुषाको सबैलास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी हुन पाएनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गए राति नै काठमाडौं फर्किएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता उच्चमाविबाट, राजपाकै नेता शरतसिंह भण्डारीले महोत्तरीको औरही नपाको औरही मावि केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्धारित समय बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

सोमबार, असोज २, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*