राष्ट्रपतिद्वारा प्रदेश २ को निर्वाचनमा सहभागी हुन आग्रह

काठमाडौं, २ असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरेकी छन् ।

प्रदेश २ मा आज बिहान ७ः०० बजेदेखि मतादन सुरु भएको छ । यो अपरान्ह ५ः०० बजेसम्म जारी रहने छ । मतदान शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ । सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेका छन् ।

निर्वाचन आयोगले जनाएअनुसार, आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्षको फलस्वरुप संविधान सभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन आह्वान गरेकी हुन् ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको शृङ्खलाका रुपमा व्यापक जनसहभागितासहित विसं २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन र २०७४ असार १४ गते दोस्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको सर्वविदितै छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ ।

साथै यस निर्वाचनले गाउँ तथा नगरमा नेतृत्व स्थापित गर्दै स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्यार्इ सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्नेछ विज्ञप्तिमा भनिएको छ ।

    सोमबार, असोज २, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*