फेसबुकले दिलायो सात वर्षीया बालिकालाई न्याय

घटना अमेरिकाको हो । त्यहाँ एकजना सात वर्षीया बालिकालाई एउटा ठिटोले लगातार एक वर्षसम्म जिस्क्याएर हैरान–परेसान गरिरहेको थियो । बालिका भयभीत थिई र घरबाट बाहिर निस्कनै छोडेकी थिई । अब ऊ बिरामी पनि भइरहन थालेकी थिई ।

यो सब थाहा पाएपछि पहिले त बालिकाकी आमाले ११ वर्षीय त्यस ठिटोलाई निकै भनिन्, सम्झाइन् । उसका अभिभावकहरूसित पनि गुनासो गरिन् ।

तर त्यसबाट कुनै प्रभाव परेको देखिएन । किनभने त्यो बालककी आमा आफ्नो छोराले त्यस्तो गर्न सक्छ भनेर विश्वास गर्नै मानेकी थिइनन् ।

त्यसो भएपछि बालिकाकी आमाले यो समस्याको समाधानका लागि अर्कै उपाय सोच्न थालिन् । उनले सामाजिक सन्जाल फेसबुकमा एउटा ‘एन्टी बुलिङ पेज’ खोलिन् र त्यसको नामाकरण गरिन्– ‘जस्टिस फर एस्ले’ ।

एस्ले लगातार जिस्क्याएर हैरान पारिएकी त्यही बालिकाको नाम हो । बालिकाकी आमालाई आश्चर्य त्यतिबेला भयो जतिखेर स्थानीय मोटरसाइकल क्लबमा आबद्ध दर्जनौँ मानिस (बाइकर्स) एस्लेको समर्थनमा उनको घरबाहिर भेला हुन आइपुगे ।

Bike-club

एस्लेलाई जिस्क्याएर दिक्क पार्ने ठिटो पनि उनीहरूको घरछेउमै बस्थ्यो । ती सबै बाइकर्स त्यस ठिटोको घर पनि गए । त्यति धेरै बाइकर्सलाई देखेर ठिटो र उसका अभिभावकहरूको हंसले ठाउँ छोडेजस्तो भयो ।

एस्लेले पनि आफ्ने घरछेउबाट चिच्याएर भनी, ‘अब म कसैसित डराउँदिन ।’

एस्लेकी आमा बाइकर्सको समर्थन पाएर निकै खुसी र सन्तुष्ट छन् । बाइकर्स क्लबले भविष्यमा पनि एस्लेलाई सहयोग समर्थन गरिरहने बताएको छ ।

एस्लेलाई सहयोग गर्न पुगेका एकजना बाइकर जोन आर स्पेन्सरले आफ्नो फेसबुकमा यस्तो लेखे, ‘आज राती हामीले कसैको जिन्दगीमा एउटा सानो परिवर्तन ल्याउन सक्यौँ र एकजना जिस्क्याइएर हैरान पारिएकी बालिकालाई सहयोग गर्यौँ । त्यो बालिकालाई पछिल्लो एक वर्षदेखि जिस्क्याएर दिक्दार पारिएको थियो । बालिका कतिविधि डराएकी थिई भने उसले त घरबाट बाहिर निस्कनै छोडिसकेकी थिई ।’

         जेठ २०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*