बाजेलाई बचाउन खोज्दा दुई नातिको ज्यान गुम्यो

सुर्खेत, ३० साउन ।

बाजेलाई बचाउन खोज्दा सुर्खेतमा दुई जना नातिको पनि मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिकास्थित सिन्दुरे गाउँमा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । शनिबार मध्यरातमा पहिरोले घर बगाएपछि एकै घरका तीन जनाको ज्यान गएको खबर छ ।

लगातारको वर्षापछि मध्यरातमा ठूलो आवाज आयो । निन्द्राबाट झल्याँस्स ब्युझिएपछि १४ वर्षका बिक्रम बुढा र उनका १२ वर्षका भाई शरण बुढा आमासँगै घरबाहिर भागे । तर ८३ वर्षका बाजे गुमानसिं बुढा घरभित्रै थिए । पहिरोले घर नै बगाउन थालेपछि बाजेलाई बचाउन भन्दै दुवै भाई घरभित्र पसे । बाजेलाई बाहिर निकाल्न गएका उनीहरु बाहिर निस्कन पाएनन् । तीनै जना बाजेनाति पहिरोका कारण घरभित्रै पुरिए ।

५५ वर्षीया द्रुपदा बुढा बाजेलाई जोगाउन घरभित्र पसेका दुबै छोराको पर्खाइमा थिइन् । तर उनले हेर्दाहेर्दै पहिरोले घर बगायो । काखमै रहेका दुवै छोरा गुमे । पहिरोमै परेर उनी घाइते भइन् । घरबाहिर भएका कारण उनले आफ्नो ज्यान भने जोगाइन् । तर परिवारका तीन सदस्य मध्य रातमा आँखै अगाडि गुमे ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी द्रुपदाको आँखामा आँसु ओभाएको छैन । शरिरको चोटभन्दा उनलाई रहरलाग्दा छोराहरु गुमाउँदाको पीडाले पोलेको छ । उनका पति र जेठा छोरा मजदुरीका लागि भारतमा छन् । –अन्नपूर्ण पोस्ट

         सोमबार, साउन ३०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*