बाहिरी चक्रपथ : एक दशकपछि सुरु भयो जग्गा प्राप्तिको प्रक्रिया

काठमाडौं, २५ कात्तिक ।

बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ ।

चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६-६ किमी दूरीको ३-५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गरेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६-६ किमी दूरीको ३-५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न ठोस निर्णय गरेको थियो । जग्गा विकासका लागि त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । यसमा ९६ जनाले उजुरी दर्ता गरेका थिए । आयोजना रोकिन कम्तीमा पनि चार हजार असहमतिका उजुरी पर्नुपर्नेमा ९६ वटा मात्र उजुरी परेपछि काम शुरु भएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए ।

“चोभार–गाम्चा–सतुंगल ६-६ किमी दूरीको ३-५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथको काम शुरु भएको हो”–उनले भने ।

बाहिरी चक्रपथको सडक ५० मिटरको हुनेछ । राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५-२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने प्राधिकरणले जनाएको छ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ । जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३-५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य तीन सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गनुपर्ने उनले बताए ।

“असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये पनि अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशत भन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको संख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको संख्या कम छ” – प्रवक्ता न्यौपानेले भने ।

बाहिरी चक्रपथ निर्माण प्रक्रियामा पाँचवर्ष अघि कीर्तिपुर नगरपालिकाका स्थानीयवासीले चर्को विरोध गरेका थिए । यसपटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ ।

यसबीचमा विसं २०७२ वैशाख १२ गते आएको भूकम्पले स्थानीयवासीको मन परिवर्तन भएको प्राधिकरणको बुझाइ छ । प्राधिकरणले जनचेतना जगाएकाले पनि स्थानीयवासी सकारात्मक बनेका हुन् । सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६-६ किमी निर्माण कार्यअघि बढ्ने भएको छ ।

बाहिरी चक्रपथको यो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिने छ ।

यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । यही खण्ड निर्माणको सुनिश्चितता भएपछि बाहिरी चक्रपथ बन्ने पक्का भएको हो । रासस

शनिबार, कात्तिक २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*