भरतपुर मतगणना विवादः सर्वोच्चद्वारा आयोगकै निर्णय सदर

अदालतको निर्णय मान्दै जनतामा जान्छु– ज्ञवाली

फैसलाले जनमतको कदर गरेको छ– दाहाल

काठमाडौँ, १  साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा १९ को मतगणना विवादमा पुनः मतदान गराउन आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर महानगरपालिकाको मतगणना विवादमा लामो सुनुवाइ र बहसपछि निर्वाचन आयोगकै निर्णय सदर गर्दै पुनः मतदान गराउने आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गराउने संवैधानिक दायित्व निर्वाचन आयोगमा रहेको छ, निर्वाचनमा धाँधली भएमा प्रजातन्त्रप्रति अनास्था जागृत हुने कुरामा दुईमत हुन सक्दैन, अब उप्रान्त आफ्नो दायित्वतर्फ विशेष रुपमा सचेत रही सुरक्षालगायत जो चाहिने व्यवस्था गर्नू गराउनू ।”

भरतपुर महानगरपालिका वडा १९ मा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगको गत जेठ २० गते गरेको थियो । निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णयविरुद्ध वडा नं १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

आदेशमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५ ९१० ख मा भएको व्यवस्थाले मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिलाई बाहेक गरेको भन्दै मतगणनास्थलमा उपस्थित जो सुकैले मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीको जिम्मा रहने मतपत्र खोसी च्यातेको स्थितिमा मतगणना कार्य निष्पक्ष तथा स्वतन्त्र हुन नसक्ने उल्लेख छ ।

त्यसैगरी, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० ९१० ख मा भएको व्यवस्थाअनुसार आदेशमा मतगणनाको कार्य निश्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढंगले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा मतगणनास्थलको अनधिकृत कब्जा भएको देखिएको आदेशमा उल्लेख छ ।

मतगणनास्थलको मुख्य निर्वाचन अधिकृतको प्रतिवेदन, अनुगमन टोलीको जाँचबुझ प्रतिवेदन समेतलाई आधार बनाई वडा १९ को सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द हुने गरी निर्वाचन आयोगको निर्णय कानुन अनुरुप नै भएको आदेशमा उल्लेख छ ।

साथै, च्यातिएको ९० मतपत्र बदर श्रेणीमा राखी पुनः मतगणनाको कार्य सुचारु गर्न निर्वाचन आयोगको नाममा आदेश जारी गर्न माग गदैृ दायर गरिएको रिट निवेदनसमेत अदालतले खारेज गरेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनामा नेकपा (एमाले)  का उम्मेदवार देवी ज्ञवाली र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको समयमा गत जेठ १५ गते राति माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेपछि गणना कार्य स्थगित गरिएको थियो । भरतपुर मतगणनासम्बन्धी विवाद आजसम्म आदेश आईपुग्दा सातौँ पटक सुनुवाइ भएको हो ।

यसअघि गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिए पनि सुनुवाइ हुन नसकी साउन २ का लागि तोकिएको थियो । त्यसअघि असार २३ गते न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ शुरु भए पनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो ।

त्यसअघि तत्कालीन कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र असार १३ गते अदालतमा पेश गरिएको थियो ।

निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनःमतदान गराउने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको कालिका खड्काको समाचार राससले सम्प्रेषण गरेको छ ।

अदालतको निर्णय मान्दै जनतामा जान्छु– ज्ञवाली, फैसलाले जनमतको कदर गरेको छ– दाहाल

Devi geawali & Renu dahal

यसैगरी रत्ननगर (चितवन) बाट राससको अर्को समाचारअनुसार, स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बन्नुभएका देवी ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ ।

निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वाेच्चले सदर गरेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।” उहाँले अब जनतामा गएर विजयी हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट पुनः निर्वाचित भएर आउने कोशिस गर्छु ।”

यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्स स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।”

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्धा दायर गर्नुभएको थियो ।

        सोमबार, साउन १६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*