भरतपुर महानगरपालिका : मेयर, उपमेयर दुवै महिला

पार्वती शाह र रेणु दाहाल

भरतपुर (चितवन), २२ साउन ।

भरतपुर महानगरपालिका देशकै त्यस्तो एकमात्र स्थानीय निकाय भएको छ जहाँ मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार विजयी बनेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी भएकी छिन्। माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु झन्डै २ दशकदेखि सक्रिय राजनीतिमा छिन्।

त्यसैगरी उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। उनी पनि संयुक्त गठबन्धनबाटै उम्मेदवार बनेकी हुन् । कांग्रेसको पकड क्षेत्र मानिएको भरतपुरमा कांग्रेसकै समर्थनमा उम्मेदवार बने पनि रेणुलाई जीत हासिल गर्न सहज भने भएन। उनी सुरुअतबाटै मतगणनामा पछि परेकी थिइन्।

भरतपुरका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदासम्म रेणु आफ्ना विपक्षी उम्मेदवारभन्दा ७८४ मतले पछि थिइन्। पुन: मतदान भएको १९ र गत वैशाख ३१ गते नै मतदान भएको २० नम्बर वडामा रेणुको पक्षमा राम्रो मत आएपछि उनी विजयी हुने आधार निर्माण भएको हो।

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे ।

उपमेयरमा पार्वती शाहले ४७ हजार १ सय ९७ मत प्राप्त गरिन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार दिव्य शर्माले ३९ हजार ५ सय २९ मत प्राप्त गरिन्।

निर्वाचित भएपछि रेणु दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको प्रतिक्रिया दिँदै मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनेकी थिइन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ र जिम्मेवारीबोध भएको महसुस भइरहेको छ।’

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालको भनाइ थियो, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’

मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी छिन् । मेयर दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’

रेणुको राजनीतिक यात्रा

Renu-Dahal
शिवनगरस्थित भीमसेन नगरमा जन्मिएकी रेणु दाहाल भरतपुर महानगर महानगरपालिकाको प्रमुख चुनिएकी छिन्। शिवनगर अहिले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा गाभिएको छ। रेणुको जन्म २०३३ साल असार २२ गते भएको थियो।

चितवनमै जन्मिए पनि रेणुका लागि चितवनको राजनीति नौलो हो। उनले यसअघि जिल्लाबाहिर बसेर राजनीति गरेकी थिइन्। उनी माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन्। तर माओवादीकै भोटले मात्र विजयी भएकी भने होइनन्। नेपाली कांग्रेसको प्रभाव रहेको महानगरमा कांग्रेसको समर्थन पाएपछि दाहाल विजयी भएकी हुन्।

भरतपुमा कांग्रेस र माओवादीले सहकार्य गर्दै प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई उम्मेदवार बनाएका थिए। अन्त्यमा दुबै विजयी भए। गठबन्धन सफल भयो।

०५१ सालदेखि राजनीतिमा प्रचन्डको छोरी भएका कारण उनी राजनीतिक संस्कारमै हुर्किइन्। तर औपचारिक रुपमा उनको राजनीतिक यात्रा २०५१ सालमा माओवादीको सदस्यता लिएपछि मात्रै सुरु भयो। १८ वर्षको उमेरमा राजनीतिमा होमिएकी रेणु २०५२ सालमा माओवादी युद्ध सुरु भएपछि परिवारसँगै भूमिगत भएकी थिइन्।

प्रवासमा अखिल भारत नेपाली महिला संगठन केन्द्रीय समिति अध्यक्ष तथा जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सह–ईन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव हुन्। दाहाल काठमाडौै‌की जिल्ला सह–सचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य समेत छिन्।

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधान सभामा समानुपातिकबाट सभासद् थिइन्। दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौैै क्षेत्र नं. १ मा उम्मेदवार बनेकी दाहाल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन्।

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो। उनका एक छोरा र एक छोरी छन्। उनी भरतपुर महानगरपालिका वडा नं. १० मा बस्दै आएकी छिन्।

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन्।

पार्वती शाहको राजनीतिक यात्रा

parbati shah

प्रतिस्पर्धी उम्मेदवारलाई ७ हजार ६ सय १२ मतको भारी मतान्तरले पराजित गरेर पार्वती शाहले आफ्नो लोकप्रियता प्रमाणित गरेकी छिन्। कांग्रेस–माओवादी संयुक्त गठबन्धनकी उम्मेदवार पार्वती भरतपुरमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुने जनप्रतिनिधि हुन्। उनले ४७ हजार १ सय ९७ मत ल्याइन्। निकटतम प्रतिस्पर्धी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याइन्।

उपप्रमुख चुनिएपछि पार्वतीले भरतपुलाई नमुना महानगरका रुपमा विकास गर्ने बताएकी छिन्। ‘प्रमुख र उपप्रमुख पद दुबैमा महिला विजयी भएका छौं। यस महागनरलाई नमुना बनाएर महिलाले पनि अवसरमा पाएमा प्रमाणित गर्न सक्छन् भन्ने देखाउँछौं,’ जीतपछि उनले भनिन्।

विं सं. २०२४ साल भदौ ४ गते साबिकको गुञ्जानगर गाउँ विकास समिति वडा नम्वर ४ (भरतपुर महानगरपालिका वडा नं. १८) मा जन्मिएकी शाहले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन्। कृष्ण बहादुर शाह र देवीमाया शाहको पहिलो सन्तानको रुपमा जन्मिएकी शाहले आफ्नो स्कुले शिक्षा गाउँमै पूरा गरेकी थिइन्। प्रविणता प्रमाणपत्र तह अध्ययनका क्रममा भरतपुरमा रहेको वीरेन्द्र बहुमुखि क्याम्पसबाट उनले आफ्नो राजनीतिक यात्रा सुरु गरिन्।

शाह साबिक भरतपुर नगरपालिका वडा नम्वर १२ को तरुण दलकी अध्यक्ष, नगर सदस्य, जिल्ला सदस्य हुँदै काठमाडौंमा गठित नारायणी – बागमती अञ्चलको सम्पर्क समितिको निर्वाचित अध्यक्ष समेत भइसकेकी छिन्। उनी अहिले पनि नेपाल महिला संघ चितवनको अध्यक्ष हुन्।

शाहले नेपाल तरुण दलको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव जस्तो जिम्मेवारी समेत बहन गरिसकेकी छिन्। २०६२(०६३ मा भएको जनआन्दोलनका समयमा चार महिना हिरासत जीवन बिताएकी शाह नेपाली काँग्रेसको ११ औ महाधिवेशनमा महाधिवशन प्रतिनिधि थिइन्। (थाहाखबरको सहयोगमा)

       आइतबार, साउन २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*