भलिबल खेलाडीका लागि २० लाखको अक्षयकोष

काठमाडौ, १९ जेठ । नेपाली भलिबल खेलाडीहरूका लागि २० लाख रुपैयाँभन्दा बढी रकम भएको अक्षयकोषको स्थापना भएको छ । भलिबल राष्ट्रिय खेल घोषणा भएको अवसरमा सरकारलाई धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्न नेपाल भलिबल संघले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा उक्त अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

संघका अध्यक्ष मनोरञ्जन रमन शर्माले खेलाडी अक्षयकोषका लागि १० लाख रुपैयाँ प्रदान गर्दै अक्षय कोषको सुरुआत गरे । अध्यक्ष शर्माले भलिबल खेलाडीहरूको सहयोगका लागि अक्षय कोष बनाइएको बताए । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशव कुमार विष्टलाई १० लाख बराबरको चेक हस्तान्तरण गरे । सोही अवसरमा सदस्य–सचिव विष्टले संघकी कोषाध्यक्ष सुनकेसरी मालीलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले पनि अक्षयकोषलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । अक्षयकोषका लागि पूर्व खेलाडीद्वय शीला अधिकारी र सरस्वती जिसी भण्डारीले जनही १५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन ।

सोही अवसरमा, भलिबललाई राष्ट्रिय खेलका रूपमा घोषणा गरिएकोमा संघले नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन पनि गर्यो । संघले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई धन्यवाद समेत दिएको थियो । संघका अध्यक्ष रमन शर्माले युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाललाई कृतज्ञता–पत्र प्रदान गरे । पत्रमा नेपाल सरकारले देशकै सबैभन्दा लोकप्रिय खेललाई राष्ट्रिय खेलको रूपमा चयन गरेकोमा धन्यवाद प्रकट गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले संघलाई पठाएको सन्देशपत्र वाचन गरिएको थियो । प्रधानमन्त्री दाहालले भलिबल संघले सरकारप्रति गरेको कृतज्ञताप्रति धन्यवाद ब्यक्त गर्दै देशकै लोकप्रिय खेल भलिबल विकासका लागि सरकारले योजना बनाएको बताए ।

प्रधानमन्त्री दाहालको सन्देशमा ‘देशको राष्ट्रिय खेलको रूपमा हामीले भलिबललाई पाएका छौँ । त्यसमा भलिबलकर्मी, खेलप्रेमी र सम्पूर्ण नेपाललाई बधाई दिन चाहान्छौँ । साथै भलिबल खेल विकासका लागि सरकारले छिटृै कार्ययोजना प्रस्तुत गर्नेछ’ उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीले राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको विकासका लागि छुटृै कार्ययोजना ल्याएर अविभावक खेलको रूपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘भलिबल संघलाई अवसर र चुनौती दुवै छ । सरकार भलिबलको विकासका लागि सदैव चिन्तित छ । स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहालको महत्वपूर्ण भूमिकाबाट नेपाली माटोमा सुहाउने भलिबल राष्ट्रिय खेल घोषण भएको हो ।’

मन्त्रालयका सचिव दाहालले देशको भौगोलिक स्थिति र खेल विकासको सम्भावनालाई मध्यनजर गर्दै भलिबललाई राष्ट्रिय खेल चयन गर्न सिफारिस गरिएको बताए । उनले भलिबल खेलको विकास निम्ति थप पूर्वाधार विकासका लागि सरकार तयार रहेको बताए । यसका लागि अब नेपाल भलिबल संघ सबैभन्दा जिम्मेवार बन्नुपर्ने पनि दाहालले जिकिर गरे ।

सचिव दाहालले भलिबल राष्ट्रिय खेल बन्नु भन्दा पहिले बजेटको तयारी भइसकेकाले बजेटमा भलिबल खेलका बारेमा उल्लेख हुन नसकेको बताए ।

युवा तथा खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्टले भलिबल खेल विकासका लागि आफ्नो कार्यकाल योजनाबद्ध तरिकाले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भलिबल संघका महासचिव जितेन्द्र चन्दले भलिबल खेल विकासका लागि स्थानीय, प्रादेशिक र केन्द्रीय गरी तीन तहको पूर्वाधार विकास तथा खेलाडी उत्पादनका लागि लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

जेठ १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*