१६ वर्षपछि पनि आलै दरबार हत्याकाण्डको घाउ !

काठमाडौं, १९ जेठ । त्यो समयको कल्पना मात्रले पनि आम मानिसको आङ नै सिरिङसिरिङ हुन्छ । आशंका, भय, त्रास र संशयले भरिएको त्यो समय अर्थात् जेठ १९ गते राती, राजा बीरेन्द्रको वंश नाश हुने गरी भएको नारायणहिटी राजदरबारभित्र रहेको त्रिभुवन सदनमा हत्याकाण्ड भएको समय । त्यो बर्बर, लोमहर्षक र दुःखदायी घटना भएको पनि आज शुक्रबार (जेठ १९, २०७४) १६ वर्ष पुगेको छ ।

आफू राजा बने लगत्तै राजा ज्ञानेन्द्रले त्यो घटनास्थल त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए । पछिल्लो समाचारअनुसार, त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुन लागिरहेको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ । दुई तले भवनको पहिलो तलाको निर्माण सम्पन्न भइसकेको छ भने दोस्रो तलाको निर्माणकार्य धमाधम अगाडि बढिरहेको छ ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसकिएको भए पनि नारायणहिटी संग्रहालयले हत्याकाण्ड भएको स्थलको स्मरण गराउन त्रिभुवन सदनको निर्माण गर्न लागेको हो । यो सदन कुनै बेला युवराज दीपेन्द्रको निवास थियो ।
दरबार हत्याकाण्डसम्बन्धी समाचार आजका जम्मैजसो पत्रिकामा उल्लेखनीय खबरका रूपमा प्रकाशित भएको छ । आजको ‘नयाँ पत्रिका’ दैनिक लेख्दछ, नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए ।

उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो । पछि फेरि निर्माण गर्ने निर्णय भयो । अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ । पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ ।’

संग्रहालयका अनुसार, त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ । त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ । अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ ।
संग्रहालयका प्रमुख ढुंगानाले भने, ‘भवन निर्माणसँगै डेकोरेसन पुरानै शैलीमा गरिने हुँदा खर्च धेरै लाग्ने भएको हो । डेकोरेसनपछि सदन पहिलेको जस्तै देखिनेछ ।’

संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ । ढुंगानाले भने, ‘सदन निर्माणको कुल अवधि पाँच वर्षको हो । त्यसमध्ये दुई वर्ष डेकोरेसनमै जान्छ । जस्ताको तस्तै बनाउनुपर्ने भएकाले डेकोरेसनमा धेरै समय लाग्ने देखिएको हो ।’

जेठ १९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*