भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित

नयाँ दिल्ली, २६ मङसिर ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन् ।

पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को पुस्ताले गर्न लागेको बताए ।

“राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग कुराकानी गर्दै भने । “यो ऐतिहासिक घटना हो,” उनले अगाडि थपे ।

झण्डै दुई दशकदेखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ वर्षीया सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् ।

गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो ।

राहुलका पिता राजीव गान्धी, उनकी हजुरआमा इन्दिरा गान्धी र मावली हजुरबुबा जवाहरलाल नेहरु गरी तीनै जना भारतको प्रधानमन्त्री भएका थिए ।

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो ।

उनले आउँदो शनिबार नयाँदिल्लीमा विषेश समारोहमा पदीय जिम्मेवारी सम्हाल्नेछन् ।

भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।

“धेरै बर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सिमा छैन,” लामो समयदेखि काँग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने ।

स्मरणीय छ, सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो । (एजेन्सी)

मंगलबार, मंसिर २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*