मतदान प्रक्रिया झन्झटिलो भएको मतदाताको प्रतिक्रिया

लमजुङ, २९ कात्तिक ।

सोमबार अपराह्न फुलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो । मतदानको लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । नमूना मतदानका लागि मैदानमा डोरी टाँगेर मतदान केन्द्र बनाइएको थियो । डोरी सीमानाभित्र तीन वटा फरक–फरक तीन वटा बक्सा, तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो । झट्ट हेर्दा लाग्थ्यो, मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका प्रतिनिधिले पालैपालो मतदाताहरुलाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपालो मतदान गर्दै बाहिर निष्किएका थिए ।

मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झन्जटिलो भएको प्रतिक्रिया दिए । आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झन्झटिलो भएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटक सम्म ओहोरदोहोर गर्नुपर्दा झन्झटिलो भएको नमूना मतदान गरेकी बेँशीशहरकी सिर्जना श्रेष्ठले बताइन् । “स्थानीय तह निर्वाचनमा पनि यस्तो झन्झट भएको थिएन”–श्रेष्ठले भनिन्, “तीन वटा मतपत्रको लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।”

स्थानीय तह निर्वाचन भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ भने मतदान गर्न निकै सजिलो भएको मतदाता बताउँछन् । तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले धेरै अल्मलिने बेसिीशहरकै सविता वाग्लेले बताइन् । निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हालि सक्ने समय आँकलन गरेको छ । प्रत्यक्षतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ । रासस

बुधबार, कात्तिक २९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*