गौचन हत्यामा संलग्न सुटरसहित ५ सार्वजनिक, मुख्य योजनाकार अझै फरार

संवाददाता । काठमाडौं, २८ कार्तिक ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको गोली हानी हत्या गरी एक महिनादेखि फरार रहेका एक सुटरसहित पाँचजनालाई प्रहरीले काठमाडौ लगायतका ठाउँबाट पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको छ ।

हत्यामा दुई फरक–फरक पेस्तोलबाट गोली चलेको अनुसन्धानबाट खुलेको छ । घटनालाई अन्तिम रुप दिन होन्डा कम्पनीको साइन मोटरसाइकल भारतवाट चोरी गरेर नेपाल भित्र्याइएको थियो । त्यसमा नेपाली नम्बर प्लेट राखेर सुटरहरुले प्रयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको डिआइजी गणेश केसीले बताए ।

गौचनलाई गोली हान्ने सुटर नुवाकोट पंचकन्या गाउँपालिका–५ का २१ वर्षीय राजीव स्याङताङ र घटनालाई अन्तिम रुप दिन हतियार ब्यवस्थापन लगायतको कार्यमा साथ दिने काठमाडौ नागार्जुन नगरपालिका–४ का २२ वर्षीय प्रकाश बुढाथोकी, पर्सा कालिकामाई गाउँपालिका–१ का ३५ वर्षीय शिवजी महतो, भारतको बिहार बेतिया जिल्ला ग्राम पंचायत चौबेटोला–७ का मुकेशकुमार पाण्डे र पर्सा ठोरी गाउँपालिका–५ का १८ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

gauchan murder case

महतोले भारतकोे बेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैेयामा श्याम गुम्बे गुरुंंगलाई विक्री गरेको अनुुसन्धानबाट खुलेको छ । सोही हतियार प्रयोग गर्दै गौचनको हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फिरौती नै हत्याको कारण रहेको प्रहरीले निष्कर्ष निकालेकोे छ ।

गौचन यसरी मारिए 

सदाझैं गौचन त्यो दिन पनि शान्तिनगरस्थित आफ्नो घरबाट बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीबाट महासंघ कार्यालय आउँदै थिए । उनको साथमा थिए, चालक रामकुमार खत्री ।

खरिबोट चोक नजिक दुई जना युवा उनलाई कुरेर बसेका थिए । गौचन सवार गाडी त्यहाँ पुग्ने वित्तिकै २२ वषर्ीय प्रकाश बुढाथोकीले ढुंगा प्रहार गरे । गाडीको अगाडीको सिसामा ढुंगा हानेका उनी भागे ।

गौचन हत्याकाण्डको अनुसन्धान समितिका प्रमुख डीआईजी गणेश केसीका अनुसार उनी त्यहाँ कतिवेला गौचन निस्किन्छन् ? अन्य मान्छेले देखेका छन् कि छैनन् ? भन्ने हेर्न र ढुंगा हान्न नै बसेका थिए ।

ढुंगा लागेपछि गौचन सवार कार रोकियो । प्रहरीका अनुसार गाडी राकिने वित्तिकै २१ वषर्ीय पेशेवर सुटर राजिव स्याङ्ताङले गोली हाने गरे । उनी गाडीको अगाडि गए र ड्याङ … ड्याङ दुई राउण्ड गोली चलाए ।

गोली शिशा छेडेर गौचनको पेटमा लाग्यो । बुढाथोकी र स्याङ्ताङ एकैतर्फ भागे । केहीपर उनीहरुलाई मोटरसाइकल तयार थियो । जुन मोटरसाइकलको व्यवस्थापन गरेका थिए, १८ वर्षीय सन्तोष गुरुङले ।

उनी पर्साको ठोरी गाउँपालिका-५ का हुन् ।

सीसी टिभी फुटेजमा देखिएअनुसार गोली प्रहारपछि स्याङ्ताङले केहीपर पुगेर माक्स र ज्याकेट फ्याले । त्यस दिन उनले सेतो टिसर्ट लगाएका थिए, सोमबार प्रहरीले पक्राउ गर्दा पनि उनी त्यही टिसर्टमा भेटिए ।

उनी नुवाकोटमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । बुढाथोकी भने राजधानीमै ठाउँ परिवर्तन गर्दै लुकिछिपी बस्दै आएका थिए ।

उनीहरुलाई हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने पर्साका ३५ वर्षीय शिवजी महतो र भारत विहारका २४ वषर्ीय मुकेशकुमार पाण्डे समेत पक्राउ परेका छन् । घटनामा भारतबाट चोरी गरेर साइन मोटरसाइकल ल्याइ नेपाली नम्बर बा ३५ प २४६१ राखेर प्रयोग गरिएको भेटिएको छ ।

घटनामा प्रयोग गरिएको हतियार भने भारतको वेतियाबाट नेपाली रुपैयाँ ६५ हजारमा खरिद गरिएको खुलेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

हत्यामा दुई भगौडा आर्मीको पनि संलग्नता

प्रहरीका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याको योजनाकार गुण्डानाइके समिरमान सिंह बस्नेत हुन् । उनलाई मनोज पुनले पनि सहयोग गरेका थिए ।

घटनामा संलग्न भएको अभियोगमा ५ जना पक्राउ परेपनि ८ जना अझै फरार छन् । फरार रहेका मध्ये दुई जना भगौडा आर्मी भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न श्यामबहादुर गुम्बे र काले दाई भनिने अमरबहादुर राणा आर्मीबाट भागेका भगौडा हुन् ।

घटनामा राणा समेत सुटरको रुपमा प्रयोग भएका थिए । गुम्बे समेत घटनामा सहयोगीको भूमिकामा छन् ।

घटनाको नेतृत्व समिरमान सिंह बस्नेतले गरेका अनुसन्धान टोलीका नेतृत्व गरेका डिआइजी गणेश केसीले बताए । बस्नेत काठमाडौंमा रहेर लामो समयदेखि व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए ।

उनले मागे जति रकम नदिँदा गौचनको हत्या भएको प्रहरीले जनाएको छ । यद्यपि, कति रकम हो भन्ने खुलेको छैन ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस्नेत भारतमा लुकेर बसेको प्रहरीको आशंका छ । युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पनि फरार अभियुक्त हुन् ।

अर्का अभियुक्त लोप्साङले बस्नेत र पुनकै कमाण्डमा रहेर नेपालमा अपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले बताएको छ ।

घटनामा बोका भनिने गंगा लिङ्देन लिम्बुको संलग्नता समेत खुलेको छ । बस्नेतको पारिवारिक नाताभित्र पर्ने रोशन बुढाथोकी समेत सम्पूर्ण काम फत्ते गर्न प्रयोग भएका थिए । घटना संलग्न अर्का अभियुक्त अजय थापा समेत फरार छन् । उनीहरु यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न थिए ।   (केन्द्रबिन्दु र अनलाइनखबरको सहयोगमा)

मंगलबार, कात्तिक २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*