मतपेटिका जोगाउन मुसालाई पासो !

मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गेटमा लाहाछाप लगाइएको साइरनवाला ताला र टेन्टमा दलका कुरूवा कार्यकर्ता । तस्बिर : खेम बुढामगर/अन्नपूर्ण पोस्ट

लिबाङ (रोल्पा), १९ मंसिर ।

सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ ।

रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा प्रहरीले पहरासमेत दिइरहेका छन् ।

मंसिर १३ मा जिल्लाका एक सय ६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् ।

मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए ।

‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’

मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ, जहाँ मुसाको खतरा छ । – अन्नपूर्ण पोस्ट

मंगलबार, मंसिर १९, २०७४ मा प्रकाशित

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*